हिमाल दैनिक
मुलुक र व्यवस्थाप्रति निर्दयी नभई निकास खोज्न ओलीलाई कांग्रेस नेता पौडेलको आग्रह
kp-oli-ram-chandra-poudel
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बादहीनताको स्थितिलाई तत्काल अन्त्य गरी देश र जनताले ठूलो संघर्षबाट प्राप्त गरेको लोकतान्त्रिक शासन व्यवस्थालाई भँड्खालोमा पर्नबाट जोगाउन गम्भीर हुन आग्रह गरेका छन्। कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनको अन्तिम घडीमा आफ्नै समूहबाट असहयोग भएको महसुस गर्दै अधिवेशनको प्रक्रियाबाट अलग र निष्कृय रहँदै आएका नेता पौडेलले बुधबार विपक्षी दलका नेता ओलीलाई भेट्दै विगत ६ महिनादेखि राष्ट्रिय राजनीतिमा देखिएको गतिरोध अन्त्यका लागि प्रयास थालेका हुन्। सत्तारुढ गठबन्धनको तर्फबाट गठित उच्च संयन्त्रको संयोजक समेत रहेका नेता पौडेलले बुधबार अपरान्हपछि एमाले अध्यक्ष ओलीलाई भेट्दै विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि सम्वादहीनताको स्थिति तोड्न र मुलुक र लोकतन्त्रलाई असफल हुनबाट जोगाउन जिम्मेवार नेताहरु नै गम्भीर हुनु पर्ने बताएका थिए। ओलीसँगको भेटवार्तापछि हिमाल दैनिकसँग कुरा गर्दै नेता पौडेलले भने, ’‘विगत लामो समयदेखि व्यवस्थापिका र न्यायपालिकामा देखिएको गतिरोधका कारण देश भँड्खालोमा जान लागेको कारण मलाई चिन्ता लागेपछि केपी ओलीजीलाई भेट्न गएको हुँ। भेटका अवसरमा मैले उहाँसँग देश र लोकतन्त्रप्रति रिस नपोख। कही केही कुरामा समस्या भए सम्वाद र सहमतिको माध्यमबाट समाधान खोजौँ र निकास दिउँ भने।’ भेटवार्ताका क्रममा आफूले पूर्व प्रधानमन्त्री ओलीलाई यदी उनी र उनको दलका केही विषयहरु भए प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा अथवा अरु दलका नेताहरु जोसँग सम्बन्धित छ, उनीहरुसँग बसेर सम्वाद गरी सहमती र सम्झौताको बाटो खोज्न सुझाएका थिए। पौडेलसँगको वार्ताका क्रममा अध्यक्ष ओलीले भने आफ्नो पूर्ववत् अडान दोहोर्याउँदै आफ्नो पार्टी विभाजन गरी नयाँ दल बनाएर सत्तागठबन्धनको साझेदार रहेका माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीलाई हटाउन, एमालेले कारबाही गरेका नेकपा एसका सांसदलाई हटाउन आनाकानी गर्ने सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन तथा संसद पुनस्थापनाको परमादेश जारी गर्ने पाँच जना सर्वोच्च अदालतका न्यायाधीसलाई हटाउनु पर्ने माग अघि सारेका थिए। ओलीको अडानपछि नेता पौडेलले यस्ता अडानले मात्रै समस्याको समाधान नदिने बताउँदै समस्यालाई बल्झाएर वा गतिरोध कायम गर्दा मुलुक र जनताले दुःख मात्रै पाउने चिन्ता व्यक्त गरेका थिए। ‘मैले ओलीजीलाई तपाई लगायत जिम्मेवार दलका जिम्मेवार नेताहरु यसरी निर्दयी नबन्नुहोस्। मुलुक र जनताप्रतिको दायित्वबोध गर्दै जिम्मेवार बन्न र आपसी सम्वादमार्फत निकास दिनुहोस् भने,’ नेता पौडेलले भने। विशेष गरी गत असारमा सर्वोच्च अदालतले तत्कालिन सरकारका प्रधानमन्त्री ओलीको दोस्रो पटकको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै संसद पुनस्थापनासँगै विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेपछि पदच्यूत हुन पुगेका ओली अदालत र संसदसँगै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आक्रोसित बन्दै असहयोगको राजनीतिलाई अघि बढाएका थिए। जसको कारण विगत ६ महिनादेखि प्रतिनिधि सभा बैठक अवरोध हुँदै जाँदा संसदले जनचासोका विषयमा बहस गर्न र सरकारलाई खबरदारी गर्न सकिरहेको छैन। यसैगरी पछिल्लो समय सर्वोच्च अदालतभित्र देखिएको विवादले पनि न्यायलय समेत प्रभावित बनेको छ। व्यवस्थापिका र न्यायपालिकाले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा देश र जनतामा परिवर्तीत राजनीतिक व्यवस्था र यसका प्रमुख हिस्सेदार राजनीतिक दल तथा नेतृत्वप्रति नै अविश्वास र वितृष्णा पैदा हुनुका साथै यसले अन्ततः देशलाई नै असफलताको भूमरीमा धकेल्दै खतराबाट चिन्तित पौडेलले ओलीलाई घच्घच्याउने प्रयास गरेका हुन्। संयन्त्रको संयोजक समेत रहेका नेता पौडेलले आफूलाई सरकारको नेतृत्व अथवा गठबन्धनका नेताहरुको आग्रहमा नभई आफैँले ओलीसँग वार्ताको पहल थालेपनि यसबारे गठबन्धनका नेताहरुलाई पूर्वजानकारी भने दिएर गएको बताए।
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update