प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी जेठको पहिलो साताभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तयारी थालेका छन्।
निर्वाचन आयोग र विपक्षी दलसँगै सरकारी नेतृत्वको विरुद्धमा लागेका कतिपय व्यक्तिहरुले स्थानीय तहको निर्वाचनको विषयमा सरकारमाथि आशंकाको औंला ठड्याइरहेका बेला प्रधानमन्त्री देउवाले सत्तागठबन्धनका शीर्ष नेताहरुको सुझाव बमोजिम ०७९ जेठमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
नेपाली कांग्रेस वागमती प्रदेश कार्यसमितिका सभापति तथा वागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बाँनियाको नेतृत्वमा प्रदेश कार्यसमितिका पदाधिकारीसहितको टोलीसँग सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिएका हुन्।
प्रधानमन्त्री देउवासँगको भेटवार्ताबारे हिमाल दैनिकसँग कुरागर्दै प्रदेश सभापति बाँनियाले प्रधानमन्त्री देउवा वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुबीच आपसी विश्वास र समझदारी कायम गर्दै जेठमै निर्वाचन गराउन प्रतिबद्ध रहेको जानकारी दिए।
‘प्रधानमन्त्रीज्यूले हामीहरुसँगको कुराकानीका क्रममा आफू अहिलेको सत्ता गठबन्धनलाई एकताबद्ध बनाउँदै जेठको पहिलो हप्ताभित्रै चुनाव गराउन सरकार दृढ रहेको बताउनु भयो। यसका लागि निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन सबै तहका नेता, कार्यकर्ता संगठनलाई बलियोे बनाउन र जनतामाझ पुगेर मतदाताको मन जित्ने कार्यमा जुट्न निर्देशन दिनु भयो,’ बाँनियाले प्रधानमन्त्रीसँगको कुराकानीबारे उल्लेख गर्दै भने।
यसअघि नयाँ संविधान जारी भएपछि तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयावधिसँगै संविधान र स्थानीय निर्वाचन ऐनमा देखिएको विवादका कारण उत्पन्न अन्यौलतालाई कानूनी रुपमै समाधान गर्दै सरकार अघिल्लो पटकमा जस्तो ६ महिनाको अन्तरमा तीन चरणको निर्वाचन नगरी जेठमै सबै स्थानमा निर्वाचन गराउन लागिपरेको छ।
वागमती प्रदेश कांग्रेस कार्यसमितिको कार्यालय प्रदेशको राजधानी हेटौंडाकै सानोपोखरामा र सम्पर्क कार्यालय काठमाडौंमा पनि राख्ने निर्णयबारे जानकारी गराउन तथा उक्त कार्यालय उद्घाटनको लागि सभापति तथा प्रधानमन्त्री देउवालाई निमन्त्रणा गर्न पुगेको बाँनियासहितको टोलीलाई सभापति देउवाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिएका थिए।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको तेस्रो लहरको प्रकोपका कारण तत्काल भौतिक रुपमा उपस्थित भएर प्रदेश कार्यालय उद्घाटनमा सहभागी हुन सम्भव नभएको बताउँदै देउवाले यसका लागि आवश्यक पर्दा भर्चुअल माध्यमबाट भएपनि आफूले कार्यालय उद्घाटन गर्न सक्ने बताएका थिए।
प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा आफूहरुबीच मुलुकको समसामायिक राजनीतिक परिस्थिति, सत्ता गठबन्धनको निरन्तरता र आसन्न तीन तहको निर्वाचनमा पार्टीको बलियो उपस्थिति के कसरी गराउन सकिन्छ भन्नेबारे पनि छलफल भएको जानकारी बाँनियाले दिए।
यसका अतिरिक्त सभापति देउवाले पार्टी विधान बमोजिम केन्द्र, प्रदेश र स्थानीय तहका कार्यसमितिले आफ्नो अधिकारको प्रयोग गर्नेदेखि संगठनलाई कसरी चुस्त, दुरुस्त र गतिशील बनाउन सकिन्छ त्यस दिशामा सबैको ध्यान केन्द्रीत गर्दै जेठमा हुने निर्वाचनमा सफलताको आधार तयार पार्न पनि निर्देशन दिएका थिए।
जवाफमा आफूले वागमती प्रदेशमा संगठन परिचालनको प्रभावकारीताका लागि एक चरणको प्रशिक्षण गर्ने तयारीमा रहेको जानकारी प्रधानमन्त्रीलाई दिएको बाँनियाले बताए।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय