स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच परामर्श बैठक सुरु भएको छ।
सत्तागठबन्धनमा रहेका दलका शीर्ष नेताहरु सम्मिलित संयन्त्रको सुझाव बमोजिम आगामी जेठ मसान्तभित्रै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित अन्य आयुक्तहरुसँग छलफल सुरु गरेका हुन्।
अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सरकारका गृहमन्त्री बालकृष्ण खाण तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित निर्वाचन आयोगका पदाधिकारीसँग स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते एकै चरणमा गर्ने सम्भावनाबारे परामर्श गरेको प्रधानमन्त्री निवास स्रोतले बतायो।
करिब साढे चारवर्ष अघि तीन चरणमा गरी सम्पन्न भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको निर्वाचन मिति अनुसार जेठ ५ गते पदावधि सकिँदैछ। निर्वाचन आयोग लगायत विभिन्न सरोकारवाला पक्षबाट स्थानीय तहलाई जनप्रतिनिधिबिहिन बन्न नदिन र कानूनी जटिलता उत्पन्न हुन नदिन पनि पदावधि सकिनु अघि नै निर्वाचन गराउनु पर्ने दबाब सरकारलाई दिँदै आइरहेका छन्।
सरकारले पनि संविधान र कानूनको परिधिभित्र रहेर स्थानीय निकायमा जनप्रतिनिधिहरुको ताजा जनादेशका आधारमा नयाँ संरचना गठन गर्न सकेसम्म एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहेको छ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय