बहुचर्चित अमेरिकी सहयोग सम्बन्धी सम्झौताको (एमसीसी) विषयमा सत्तासाझेदार दुई प्रमुख दलका शीर्ष नेताहरुले पठाएको भनिएको पत्रको विषयले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।
विशेषगरी एमसीसीका कतिपय प्रावधानहरु राष्ट्रहितको विरुद्धमा रहेको सार्वजनिक दाबी गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगै संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी एमसीसी मुख्यालयलाई पठाएको पत्रसँगै एमसीसी बोर्डले पठाएको जवाफी पत्र आमसंचार माध्यमबाट सार्वजनिक भए लगत्तै उक्त विषयले एमसीसीको मात्र होइन, सत्ता गठबन्धनका शक्तिहरुबीचको आपसी सम्बन्धमा समेत दरार पैदा गरेको छ।
सार्वजनिक रुपमा एमसीसीको विरोध गर्दैआएपनि प्रधानमन्त्री देउवासँग मिलेर गत असोज १३ गते ६ बुँदे प्रतिबद्धता पत्रमा नेताद्वयले आफूहरुले एमसीसी सम्झौतालाई फागुन दोस्रो साताभित्रै पारित गरी यसको सफल कार्यान्वयन गर्ने भन्दै पठाएको पत्र हालै सार्वजनिक भएको थियो।
कुटनीतिक मर्यादा र भाषागत कमजोरी मात्र होइन, सार्वभौम संसदको सभामुखको भूमिकाको विषयमा समेत ख्याल नगरी दुई नेताले पठाएको पत्रको विषयले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई उक्त प्रस्तावबारे बचाउ गर्न सहज बनाएको छ। तर, दाहाललाई भने उक्त विषयले राजनीतिक संकटमा पार्ने खतरा बढेपछि उनी यसरी सार्वजनिक गरिएको पत्रको विषयमा थप कुराकानी गर्न प्रधानमन्त्री देउवासँग आइतबार अपरान्ह भेट्दैछन्।
पार्टीभित्रको आन्तििरक दबाबसँगै आम जनतामा बुझेर वा नबुझिकनै गरिँदैआएको विरोधबाट उम्किन नसक्नेगरी चेपुवामा परेका दाहालले आजै मात्र पत्र सार्वजनिक गरेको विषयलाई लिएर प्रधानमन्त्रीसँग असन्तुििष्ट पोखेको स्रोतको दाबी छ।
कांग्रेस सभापति देउवाको अघिल्लो कार्यकालमा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा गएर गरेको एमसीसी सम्झौताको विषयमा पार्टीले यसअघि नै औपचारिक निर्णय गर्दै पक्षमा उभिएपनि अहिले पार्टीका पदाधिकारी तथा अन्य नेताहरुले त परको विषय हस्ताक्षरकर्ता कार्की स्वयंले उक्त सम्झौताको विषयमा खुलेर बोल्ने र समाजमा व्याप्त अन्यौलता हटाउन आवश्यक ठानिरहेका छैनन्।
उता अदालतको आदेशबाट सत्ताबाहिर रहन पुगेको नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओली भने यही विषयमा सत्तारुढ दलभित्र उत्पन्न हुनसक्ने विवादको छिद्रलाई झन फराकिलो बनाउँदै राष्ट्रिय राजनीतिमा खेल्ने प्रयासमा लागिपरेका छन्।
सत्तामा छँदा एमसीसी सम्झौता तत्काल सदनबाट पारित गर्नु पर्ने भन्दै यसको पक्षमा उभिँदै आएपनि सत्ताबाहिर पुगेपछि उक्त विषयबारे सरकारकै थाप्लोमा हाल्दै उम्किन खोज्दैछन्। यसरी उत्पन्न नयाँ परिस्थितिको फाइदा लिने दाउमा रहेको ओलीले आजै प्रधानमन्त्री देउवालाई भेट्ने तयारीमा रहेको स्रोतले बतायो।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय