नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिलेर बहुचर्चित अमेरिकन सहयोग सम्झौता (एमसीसी) प्रस्ताव संसदबाट अनुमोदन गराउने प्रतिबद्धतासहितको पत्र अमेरिकालाई पठाएको समाचार सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रकै नेताहरुले दाहालमाथि नैतिक राजनैतिक दबाब दिन थालेका छन्।
गत असोजमा एमसीसी मुख्यालयकी प्रतिनिधिले नेपालको भ्रमण गरी फर्किए लगत्तै प्रधानमन्त्री देउवा र दाहालले संयुक्त पत्रमा हस्ताक्षर गर्दै फागुन दोस्रो साताभित्र उक्त प्रस्ताव सदनबाट अनुमोदन गराउने आश्वासन दिएका थिए।
देउवा र दाहालले हस्ताक्षर गरेको पत्रसँगै एमसीसी मुख्यालयबाट आएको जवाफी पत्र संचार माध्यमबाट सार्वजतिक भएलगत्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालले पत्र पठाएपनि आफ्नो पार्टीको दृष्टिकोण र अडान यथावत रहेको भन्दै नेतृत्वलाई चुनौतिमात्रै दिएका छैनन्, यथास्थितिमा उक्त सम्झौता स्वीकार गर्न अथवा सदनबाट अनुमोदन गर्न नसकिने अडान राखेका छन्।
आइतबार आफ्नो फेसबुक मार्फत नेता श्रेष्ठले भनेका छन्, ‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टीपंक्ति र सबैमा अनुरोध छ। पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्विकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन ,सकिदैन।’
यही विषयमा आइतबार समाचार प्रकासित भएलगत्तै पार्टीभित्रबाट परेको दबाब खेप्न नसकेका दाहालले प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता गर्दै पत्र सार्वजनिक गरिदिएकोमा असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ। त्यसपछि दुई नेताबीच आजै अपरान्ह भेटवार्ता हने बताइएको छ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय