हिमाल दैनिक
बालकोट गएको ७ महिनापछि बालुवाटार छिरे ओली
3 leaders
सर्वोच्च अदालतको आदेशपछि सिंहदरबार र बालुवाटारको शासन र आसन गुमाएर बालकोटमा थन्किएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली करिब ७ महिनापछि बालुवाटार छिरेका छन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित राज्यका तीनवटै अंगहरुमा अस्तव्यस्त हुँदा संविधान र व्यवस्थाप्रति नै अविश्वास भढ्नुका साथै आसन्न तीन तहको निर्वाचनबारे छाइरहेको अन्यौलताबीच पूर्वप्रधानमन्त्री ओली प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ताका लागि पहिलो पटक आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। यसअघि आफ्नै पार्टी नेकपा एमाले विभाजन गर्दै नयाँ दल खोलेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित हुने कुनै पनि बैठकमा अनुपस्थित रहने अडान राख्दै आएका ओलीले आजको बैठकमा पनि नेपालको अनुपस्थितिमा देउवा र दाहालसँग भेटवार्ता गरेका हुन्। यसअघि पटक पटक सरकारको तर्फबाट डाकिएका सर्वदलीय बैठकमा समेत अनुपस्थित रहँदै आएको एमाले र यसको नेतृत्वसँग भएको सम्वादहिनताको स्थितिलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले केही समय अघि ओलीकै निवास बालकोटमा पुगेर भेट्दैै सम्वादहिनताको स्थिति अन्त्य गरी मुलुकमा उत्पन्न सबै समस्याको समाधान मिलेर खोज्न आग्रह गरेका थिए। वर्तमान सरकार र यसको नेतृत्वलाई परमादेशको सरकार भन्दै आएका ओली आज एकाएक देउवासँग भेट्न बालुवाटार पुगेपछि यसलाई राजनीतिक विश्लेषकहरुले अर्थपूर्ण ठानेका छन्। विशेषगरी सत्तागठबन्धनभित्र अमेरिकी विकास सहयोग सम्झौता (एमसीसी)को विषयलाई लिएर विवाद चुलिँदै गएको बेला ओलीले देउवा र दाहालसँग के विषयमा छलफल गरे अझै सार्वजनिक भएको छैन। तर, ओली निकट नेता तथा पत्रकारहरुले आज देउवासँग ओलीले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारे छलफलका लागि गएको बताइएका छन्।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update