हिमाल दैनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले अन्तत पार्टी नै परित्याग गरेका छन्। राप्रपाको हालै सम्पन्न महाधिवेशनमा आफ्नै कार्यकर्ता राजेन्द्र लिङ्देनबाट अनपेक्षित ढंगले अध्यक्ष पदको निर्वाचनमा पराजित भएपछि त्यसको दोष पूर्व राजा ज्ञानेन्द्र शाह र उनको निवास निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाउँदै यसको छानविन हुनु पर्ने माग गर्दै आएका थापाले मंगलबार गृहजिल्ला मकवानपुरको हेटौँडा पुगेर राप्रपाबाट अलग भएको घोषणा गरेका हुन्। हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीव्न पार्टीभित्रै विताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनवुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ।’ पूर्व पञ्च तथा राजावादी शक्तिका रुपमा विगत ३० वर्षदेखि राजनीतिमा सक्रिय नेता थापाले यसअघि संविधान सभाबाट जारी भएको संविधानमा गणतन्त्र र धर्मनिरपेक्षताको सट्टा राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका थिए। तर, गत महाधिवेशनमा दरबारले आफ्ना विरुद्ध सबै हथकण्डा अपनाएर आफूलाई अध्यक्षबाट हटाएको र लिङ्देनलाई विजयी गराएको भन्ने आरोपमा पार्टीको नयाँ नेतृत्वलाई अस्विकार गर्दै पार्टी मुख्यालय समेत जान छाडेका थापाले दरबारको हस्तक्षेपबारे छानविनको माग गर्दै आएका थिए। उनले आफ्नो माग सम्बोधन नभए पार्टी छाड्ने र राजसंस्थाको मुद्दालाई छाडेर हिन्दु राष्ट्रकोे मुद्दामा नयाँ दल गठन गर्ने चेतावनी पार्टीपंक्तिभित्र दिँदै पनि आएका थिए। तर, नयाँ अध्यक्षले थापाको मागबारे कुनै चासो नदिएपछि उनी अन्ततः पार्टी परित्याग गर्न बाध्य भएका हुन्। विगतमा पनि थापाले राप्रपाका तत्कालिन अध्यक्षहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर जबरासँग पटक पटक विमती र बिग्रह विभाजन गर्दै राप्रपा पार्टीको निरन्तरता दिँदै आएका थिए। तर, यसपटक भने थापालाई उनैका कार्यकर्ताका रुपमा परिचित लिङ्देनले ठेगान लगाइदिएका छन्।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update