हिमाल दैनिक
एमसीसी प्रस्ताव तत्काल सदनमा छलफल गरी पारित गर्ने कांग्रेसको अडान
ROS_KTM_CONGRSSMEETING
बहुचर्चित अमेरिकन सहयोग सम्झौता (एमसीसी)को विषयमा देशभित्र र बाहिर विवाद चर्किँदै गइरहेको बेला सत्तारुढ नेपाली कांग्रेसले उक्त प्रस्तावलाई प्रतिनिधि सभामा छलफल गरेर पारित गर्नुपर्ने अडान दोहोर्याएको छ। हालै सम्पन्न १४औं महाधिवेशनपछि गठन भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो औपचारिक बैठकमा बोल्ने नेताहरुले देश विकास र संमृद्धीका लागि एमसीसी उपयोगी र मुलुकको हितमा रहेको दाबी गर्दै यसलाई तत्काल सदनमा छलफल गरी पारित गर्नु पर्ने धारणा राखेका थिए। बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विषयमा पूर्व अर्थमन्त्री तथा नेता रामशरण महतलाई बोल्न समय दिएपछि उनले एमसीसीको विषयमा कुनै भ्रम राख्न जरुरी नभएको विचार व्यक्त गरेका थिए। बैठकमा भएको छलफलबारे जानकारी दिँदै कांग्रेसमन प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले एमसीसी मुलुकको हितमा रहेको भन्दै यसलाई पारित गर्नुपर्ने धारणा राखेको बताए। महतले एमसीसीलाई धेरै नलम्ब्याइ संसद्बाटै टुंग्याउनुपर्ने पनि पार्टीको स्पष्ट धारणा रहेको बताए। एमसीसीलाई सदनमा प्रवेश गराएर छलफल गरिए अहिले जनतामा परेको भ्रम र अन्यौलता हटेर जाने मात्रै होइन, उक्त प्रस्ताव पारित हुने दाबी उनले गरे। विगत लामो समयदेखि विपक्षी दल नेकपा एमालले निरन्तर संसद अधिवेशन अवरोध गर्दै आएको र एमसीसी प्रस्ताव सदनमा छलफलका लागि प्रस्तुत गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले आलटाल गर्दै सूचना टाँस गरी बैठक स्थगित गर्दै आएको अवस्थामा फेरिपनि सभामुखले उक्त प्रस्ताव अघि बढाउने सम्भावना कति छ भनि प्रवक्ता महतसँग पत्रकारले प्रश्न गरेका थिए। जवाफमा महतले संविधान, ऐन र संसद नियमावलीमा रहेको व्यवस्था अनुसार, सभामुखले सदनमा सरकारले अघि सारेका प्रस्ताव छलफलका लागि पेश गर्नु पर्ने काम, कर्तव्य र दायित्व रहेको भन्दै सभामुखले विधिसम्मत रुपमा आफ्नो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। बैठकमा आगामी वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई शसक्त ढंगले कसरी प्रस्तुत गर्ने भन्ने बिषयका अतिरिक्त प्रमुख एजेण्डाका रुपमा पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनसँगै कांग्रेसका जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्ला अधिवेशनको विषयमा पनि छलफल भएको थियो। पार्टीको संशोधित विधान बमोजिम कुनै पनि भातृ संस्थाका पदाधिकारीहरु पार्टी केन्द्रीय कार्यसमिति पदाधिकारी वा सदस्यमा निर्वाचित भएमा उक्त अघिल्लो पद स्वतः रिक्त हुने प्रावधानका कारण हाल नेपाल तरुण दल, नेपाल विद्याार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल मुस्लिम संघ नेतृत्वविहित अवस्थामा पुगेका छन् भने करिब एक दर्जन भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि विधान बमोजिम समयमा अधिवेशन गर्न नसक्दा निश्कृय प्रायःको अवस्थामा रहेका छन्। आजको बैठकमा बोल्ने अधिकांश नेताहरुले विधानसम्मत सबै संगठनलाई प्रभावकारी बनाउने विषयमा आफ्ना विचार राखेपनि अधिकांश नेताहरुले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट उत्पन्न आन्तरिक मतभेदसँगै तत्काल भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गराउँदा आसन्न तीन तहको निर्वाचनमा नकरात्मक असर पर्न सक्ने खतरा औँल्याउँदै भातृ संस्थाको अधिवेशन निर्वाचनपछि नै उपयुक्त हुने राय दिएको एक नेताले बताए। पार्टीभित्रको अल्पमत पक्षका कतिपय नेताहरुले आसन्न निर्वाचनमा पार्टीले सत्तासाझेदार दलहरुसँग चुनावी गठबन्धन र तालमेल गर्ने विषयमा आपत्ति प्रकट गरिरहेको विषयमा सोहिएको प्रश्नको जवाफमा प्रवक्ता महतले अहिले सबै राजनीतिक दलहरुले आफ्नो आन्तरिक शक्तिको मूल्यांकन गरिरहेको र चुनावी तालमेल र गठबन्धनको विषयमा अहिल्यै निर्णय गर्ने वा बोल्ने बेला नभएको स्पष्ट पारे। त्यस्तै कांग्रेसका निवर्तमान महामन्त्री शंशांक कोइरालाले बैठकमा एमसीसीका बारेमा पूर्व अर्थमन्त्री डा रामशरण महत्तले बिस्तृतमा जानकारी गराएको बताउँदै यसलाई छिटो पारित गर्नुपर्नेमा सवैको जोड रहेको बताए। एमसीसी नेपालको लागि राम्रो भएको र कुनै सैन्य रणनीति नभएको बिषय जनतालाई बुझाउनुपर्ने कोइरालाको भनाई थियो। तर, आसन्न निर्वाचनमा पार्टीले अरु राजनीतिक दलसँग तालमेल गरी चुनावमा जाने विषयमा भने आफू स्थानीय तह निर्वाचनमा पार्टीले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पक्षमा रहेको बताए। उनले अहिले आफ्नो अस्तित्व जोगाउनुपर्ने र कोही अर्को पार्टीसँग नमिली (निर्वाचनमा) जानुपर्ने विचार बैठकमा राखेको बताए। आजको बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार अपरान्ह पुनः बस्नेगरी स्थगित गरिएको छ।  
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update