विगत ६ महिनादेखि विपक्षी दल नेकपा एमालेका कारण अबरुद्ध हुँदै आएको संसद बैठकको अवरोध हटाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने सत्ता साझेदार दल र त्यसका नेता समेत संसदको गतिरोध लम्ब्याउन थालेका छन्।
बहुचर्चित र विवादित अमेरिकी विकास सहायता सम्झौता (एमसीसी) परियोजना सम्बन्धी प्रस्ताव सदनमा छलफल र निर्णयबारे विवाद चर्किँदै गएको बेला सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबारका लागि तय गरिएको प्रतिनिधि सभा बैठक पुनः स्थगित गर्न दबाब दिएका छन्।
एमसीसीको प्रस्तावबारे सदनमा छलफल गराउने तयारीमा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई शनिबार उनको सरकारी निवास बालुवाटारमा भेट्न पुगेका दाहाल र नेपालले ६ पटकसम्म सभामुखको सूचनामा स्थगित हुँदै आएको संसद बैठक फागुन २ गते पनि नराख्न प्रधानमन्त्री देउवालाई दबाब दिए।
सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल र सहमति खोज्न बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाको विचारसँग दाहाल र नेपालको कुरा नमिलेपछि राजनीति थप अन्यौल बन्दै गइरहेको छ।
प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले पाँच महिना अघि एमसीसी मुख्यालयलाई पठाएको पत्रमा उल्लेखित समयसीमाभित्रै संसदबाट परियोजना प्रस्ताव पारित गराउन अमेरिकाबाट दबाब बढिरहेकै बेला दाहाल र नेपालले आफ्नो पार्टीभित्रको दबाबका कारण परिमार्जन नगरी जस्ताको तस्तै प्रस्ताव पारित गर्न नसकिने अडान लिँदै आएका छन्।
कांग्रेसको नेतृत्वले भने दाहाल र नेपाल लगायत विरोधमा रहेका पक्षसँग एमसीसी सम्झौतामा रहेका कुन कुन प्रावधान परिमार्जन गर्नु पर्ने हो भनि प्रश्न गर्दै आएपनि सरोकारवाला पक्षले एकिनका साथ भन्न सकिरहेका छैनन्।
प्रकाशित मिति: शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय