हिमाल दैनिक
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रतिनिधि सभाको फागुन २ गतेको बैठक पुनः स्थगित भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा गरेको वार्ताका क्रममा सोमबारको संसद बैठक ४ गते बुधबारका लागि सार्न सभामुखलाई आग्रह गर्न सुझाव दिएको भोलिपल्टै संसद सचिवालयले सूचनामार्फत भोलिको बैठक स्थगित गरेको हो। संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार सूचना प्रकासित गर्दै सभामुखको निर्णय अनुसार भोलिको बैठक बुधबार १ बजेका लागि तय गरिएको जानकारी दिएका छन्। गत असार २८ गते सर्वोच्च अदालतले संसद विघटनको प्रस्ताव असंवैधानिक ठहर गर्दै पुनःस्थापित संसदले कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठन गरेपछि नेकपा एमालेले संसदको अधिवेशन निरन्तर अवरुद्ध गर्दै आएको छ। पछिल्लो समय एमालेको अवरोधको बहानामा सभामुखले यसअघि ६ पटक सूचना प्रकाशित गर्दै संसद बैठकको मिति सार्दैआएका थिए। यसअघि आइतबार बिहान अफिस समय सुरु हुनासात सत्तारुढ दलका ९८ सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।  
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update