हिमाल दैनिक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुचर्चित अमेरिकी विकास सहयोग सम्झौता (एमसीसी) राष्ट्रको हितमा भएको दाबी गर्दै यसलाई प्रतिनिधि सभाले टुङ्गो लगाउने बताएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बिमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा पास वा फेल जे भएपनि जनताका प्रतिनिधिहरूको साझा थलो संसदले नै टुङ्गो लगाउने बताएका हुन्। विगत साढे २ वर्षदेखि प्रतिनिधि सभामा अनुमोदनका लागि संसद सचिवालयमा थन्किएर रहेको एमसीसी प्रस्तावको विषयमा पछिल्लो समय देशका प्रमुख राजनीतिक दल तथा सामाजिक संजालमा चर्को बहस र विवाद हुँदैआइरहेको छ। पूर्ववर्ती तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको उक्त प्रस्तावको विषयमा हालको नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेता, कार्यकर्ताको चर्को विरोधपछि वर्तमान सत्ता गठबन्धनभित्र गम्भीर संकट उत्पन्न भइरहेको छ। विशेष गरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सत्ता जोगाउँदै विचको बाटोबाट एमसीसी पनि अनुमोदन गराउने आश्वासन प्रधानमन्त्री देउवालाई दिएपनि उनीहरुको दलभित्रैबाट गम्भीर आपत्ति प्रकट भएपछि दाहाल र नेपाल एमसीसीको कारण सत्ता नै छाड्न पर्ने जटिल अवस्थामा पुगेका छन्। यसका विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आजै साँझ निर्णायक वार्त हुने भनिएको छ। तर, प्रधानमन्त्री देउवाले भने अमेरिकी सरकारले नेपालको विकास निर्माणका लागि उपलब्ध गराएको अनुदान एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी हल्लाको भरमा आलोचना गरिएको गुनासो गरे। अहिले राष्ट्रको पक्षमा बोल्ने बेला आएको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले मुलुकको हित बिपरित कांग्रेसले कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका सरकारले प्रक्रिया अघि बढाएर आफ्नै नेतृत्वको संयुक्त सरकार रहेको बेला सम्झौता गरेको एमसीसी परियोजनाको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण आफुले नदेखेको दाबी समेत गरे। कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय हितका बिषयमा अरुको कुरा नसुनी सरकारले उचित कदम चाल्नुपर्ने सुझाव दिएका थिए। ् सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको दोहोरो चरित्रप्रति लक्षित गर्दै महामन्त्री थापाले बालुवाटारमा एउटा खुमलटारमा अर्को कुरा गर्न कांग्रेसको चरित्र नभएको र यसो गर्न नमिल्ने बताएका थिए। त्यस्तै पुस्तकका लेखक एवं कांग्रेस नेता अर्जुन नरसिंह केसीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित पार्ने क्षमता कांग्रेससँग मात्र रहेको दाबी गरेका थिए। केसीद्वारा लिखित पुस्तकमा सिद्धान्त तथा नीतिको परिचयसहित कांग्रेसको इतिहासका बारेमा व्याख्या गरिएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update