हिमाल दैनिक
सत्तादेखि विपक्षी बेञ्चमा रहेका कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताको नाटकीय गतिविधि र दोहोरो चरित्रलाई चिर्दै सरकारले आइतबार बहुचर्चित अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सदनमा छलफलका लागि पेश गरेलगत्तै नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलको दौडधूप र सक्रियता बढेको छ। सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुको सहमति पश्चात सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा सरकारले एमसीसी प्रस्ताव सदनमा आइतबार पेश गर्यो। नेताहरुको सहमतिका बाबजूद माओवादी र नेकपा एसका सांसदले सदनभित्रै र अन्य नेता, कार्यकर्ताले सडकमा एमसीसी प्रस्तावकोे विरोध जनाउँदै आएको बेला नेता पौडेलले उक्त प्रस्तावको विषयमा साझा धारणा तय गर्न आफ्नो सक्रियता बढाएका हुन्। सत्ता साझेदार दलका तर्फबाट गठित साझा संयन्त्रका संयोजक समेत रहेका नेता पौडेलले सोमबार अपरान्ह सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवदेखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र माओवादी नेतृत्वसँग भेटवार्ता गर्न व्यस्त रहे। अपरान्ह संसद सचिवालय सिंहदरबारमा पुगेका नेता पौडेलले एमसीसी प्रस्ताव सरकारले संसदमा पेश गरेपछि अब सडकबाट उक्त विषय सदनमा प्रवेश गरेको बताउँदै अब उक्त विषयमा राष्टको ध्यान संसदतर्फ केन्द्रीत भएको बताए। संसदमा रहेका सबै राजनीतिक दलका नेताहरुसँग एमसीसीको विषयमा छलफल गरी साझा धारणा बनाउँन सक्रिय भएका नेता पौडेलले अब एमसीसीबारे सदनमा गम्भीर छलफल हुने धारणा राखे। ‘एमसीसीबारे बाहिर सडकमा जे जसरी हल्ला र अफवाह फैलिएको छ, यो विषयले अब संसदमा प्रवेश पाएको छ। त्यसैले राष्ट्रको ध्यान संसदतर्फ केन्द्रित भएको छ,’ जनता समाजवादी पार्टीका अध्यक्ष यादवसँगको छलफल पश्चात पौडेलले संचार माध्यमसँग प्रतिक्रिया दिँदै भने। यादवसँगको छलफलमा आफूले अहिले सदनदेखि सडकमा एमसीसीकाबारेमा उठ्दै आएको विरोधको स्वर र समग्र देशको समसामयिक परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको जानकारी पनि दिए। एमसीसीको पक्षमा पार्टीको पूर्ववत् निर्णयमा अडिक देखिएका पौडेले एमसीसीको विषयमा कुरा गर्दा देशको अन्तर्राष्ट्रिय सम्बन्ध र मुलुकको विकासको अवस्था के हुन्छ भन्ने पाटोलाई गहन ढंगले केलाएर कुराकानी गरेको बताए। सत्तासाझेदार दलहरुबीच सैद्धान्तिक विभेद नभएको भएपनि केही प्रविधिक विषयमा अन्तर देखिएको उनले बताए। साथै उनले देशको राष्ट्रिय महत्वसँग जोडिएको एमसीसी प्रस्ताव सदनमा पेश भएपछि यसबारे आफूले सदनमा रहेका सबै दलका नेताहरुसँग छलफल र कुराकानी अघि बढाएको बताउँदै भने, ‘हाम्रो पुस्ता असफल पुस्तामा परिण भई मुलुक संकटतर्फ जाने हो कि भन्ने चिन्ता लागेपछि अरु दलका नेताहरुलाई भेटेको हुँ। देश संकटतर्फ नजाओस् भन्ने मै मेरो ध्यान केन्द्रित छ।’ नेपालको गरिबी अन्त्यसँगै विकास र संमृद्धि हाँसिल गर्न मित्र राष्ट्र अमेरिकाले प्रदान गर्ने अनुदान रकमले देशमा उत्पादित जलविद्युत बाह्रय मुलुकमा निर्यातका लागि प्रसारण लाइन बनाउन सकेमा देशको आर्थिक बृद्धि र गरिवी हटाउन सहज हुने दाबी उनले गरे। विगत २५ महिनादेखि संसद सचिवालयमा सभामुखको अनिच्छाका कारण थन्किएर रहेको एमसीसीका विषयमा पछिल्लो समय सदनदेखि सडकमा अनेक आवाजहरु उठ्दै र विरोध चर्किँदै गएपनि सरकारले उक्त प्रस्ताव अनुमोदनका लागि अघि बढाएको हो।  
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update