हिमाल दैनिक
प्रम देउवाका दूत गृहमन्त्री खाणद्वारा अध्यक्ष दाहालसँग भेटवार्ता
pushpa-kamal-dahal-balkrishna-khand
सरकारका गृहमन्त्री बालकृष्ण खाणले सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। अमेरिकी विकास सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता सम्बन्धी प्रस्ताव संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ दलभित्रैका दल र सांसदहरु विरोधमा उत्रिन थालेपछि गठबन्धनमा बढ्दै गएको दरार न्यूनिकरण गर्ने प्रयासमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दूतको रुपमा खाण दाहाललाई भेट्न पुगेका हुन्। बुधबार बिहान गृहमन्त्री खाण अध्यक्ष दाहाललाई भेट्न उनको निजी निवास खुमलटार गएर फर्किएको खाणका निजी स्वकीय सचिव नरेन्द्र केसीले जानकारी दिए। दाहालसँग भएको कुराकानीको विषयवस्तुबारे आफूलाई कुनै जानकारी नभएको केसीले बताए। विगत लामो समयदेखि विभिन्न चरण पारगर्दै यसअघिको सरकारले सम्झौतामा उल्लेखित प्रावधान अनुसार संसदबाट एमसीसी प्रस्ताव अनुमोदन गराउन प्रतिनिधि सभाको संसद सचिवालयमा दर्ता गरेको थियो। तर, सम्झौताका कतिपय विषयवस्तुमा गम्भीर आपत्ति जनाउँदै नेकपा माओवादी केन्द्र र सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता तथा सांसदले विरोध जनाएपनि गत आइतबार प्रधानमन्त्री देउवाले सत्तारुढ दलका शीर्ष नेताहरुबीचको सहमतिमा उक्त प्रस्ताव सदनमा पेश गराएका थिए। सरकारमा पनि बस्ने र सरकारले अघि सारेको प्रस्तावको समर्थन पनि नगर्ने दोहोरो चरित्र र रणनीति अपनाएका माओवादी र नेकपा एसका कारण समस्यामा परेको सरकारका प्रधानमन्त्री देउवाले यसअघि आफू र दाहालले संयुक्त रुपमा हस्ताक्षर गरी एमसीसी मुख्यालयमा पठाएको पत्रमा उल्लेखित समयसीमाभित्रै सदनबाट अनुमोदन गराउन प्रयास जारी राखेका छन्। यसका बाबजूद सत्तामै रहेका सहयात्री दलले साथ नदिएको अवस्थामा विपक्षी दल नेकपा एमालेको समर्थन जुटाउने प्रयासमा देउवाले मंगलबार साँझ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीसँग पनि छलफल गरेका थिए। उक्त छलफलका क्रममा देउवाले ओलीसँग अघिल्लो सरकारले अघि बढाएको एमसीसी प्रस्तावलाई सदनबाट अनुमोदन गराउने प्रक्रियामा साथ दिन आग्रह गरेपनि एमाले नेतृत्वले आफूहरुले विगत केही महिनादेखि उठाउँदै आएका मुद्दाको सम्बोधन नगरेसम्म सरकारलाई साथ दिन नसक्ने जानकारी दिएको एमाले निकट स्रोतले बतायो। एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताको भोलिपल्ट बिहानै देउवाले माओवादी अध्यक्ष दाहालसँग कुराकानी गर्न गृहमन्त्री खाणलाई पठाएका हुन्। फागुन ८ गते संसदको बैठकमा विपक्षी दल नेकपा एमालेसँगै सत्तामा रहेका माओवादी र नेकपा एस लगायतका साना कम्युनिष्ट दलका सदस्यको विरोध र नारावाजीका बाबजूद सभामुखले एमसीसी प्रस्ताव छलफलका लागि सदनसमक्ष पेश गर्न सरकारका मन्त्रीलाई समय दिएका थिए। मन्त्रालयगत हिसाबले एमसीसी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने भनिएपनि पार्टीभित्रको विरोधका कारण शर्माको अनुपस्थितिमा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्ताव सदन समक्ष अनुमोदनका लागि पेश गरेका थिए। संसदीय नियमावली र प्रक्रिया अनुसार, सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावमाथि फागुन १२ गते छलफलको प्रक्रिया सुरु गर्ने तयारी गरेका छन्। सरकारले भने सकेसम्म छलफलको समय छोट्याएर फागुन १६ गते अगावै अनुमोदन गराउने रणनीतिका साथ सक्रियता बढाएको छ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update