हिमाल दैनिक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको आरोप लगाएका छन्। बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको आरोप लगाए। यद्यपी, यसरी परिवर्तनलाई कमजोेर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र कसले कहाँबाट गरिरहेको छ भन्ने खुलाएनन्। त्यस्तै उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको दाबी गरे। पछिल्लो समय सरकारले बहुचर्चित अमेरिकी विकास सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता सम्बन्धी प्रस्ताव अघिल्लो सरकारको निर्णय र सहमति बमोजिम अनुमोदनका लागि प्रतिनिधि सभामा पेश भएपछि सत्ता गठबन्धनका प्रमुख दुई शक्ति नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अधिकांश नेता तथा सांसद विपक्षमा उभिएपछि गठबन्धनभित्र किचोलो बढ्दै गएको छ। शीर्ष नेताहरुबीच भएको वार्तामा दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव अघि बढाउन सरकारलाई सहमति पनि दिने र सदनभित्र र बाहिर एमसीसीको पक्षमा मत दिन नसकिने दोहोरो चरित्र देखाउन थालेपछि सत्ता साझेदार दल कांग्रेसभित्रैबाट गठबन्धनको विषयमा प्रश्न उठ्न थालेको छ। यसैबीच कतिपय संचारमाध्यमले आजै बिहान दाहाललाई फकाउन प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएको भन्ने समाचारको खण्डन गर्दै दाहालले भने, ‘पहिले भेट भएपनि आज बिहान प्रधानमन्त्रीजीसँग भेट भएको होइन। बरु, उहाँसगको सल्लाहमा मलाई भेट्न गृहमनत्री आउनु भएको थियो।’ सदन र सडकमा चर्किँदै गएको विरोधका बाबजूद सरकारले फागुन ८ गते एमसीसी प्रस्ताव सदनमा छलफलका लागि पेश गरेको छ। उक्त प्रस्तावमाथि बिहिबार बस्ने संसद बैठकमा छलफल र अनुमोदनको प्रक्रिया अघि बढाउने भनिएपनि सत्तामा रहेका दलहरुबीच सहमति नजुट्दा प्रधानमन्त्री देउवाले विपक्षी दल नेकपा एमालेको साथ र समर्थन खोज्ने प्रयास पनि जारी नै राखेको छ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update