हिमाल दैनिक
प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब साढे २ घण्टा चलेको वार्ता पुनः आजै साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट्नेगरी टुंगिएको छ। बहुचर्चित अमेरिकी सहयोग अनुदान सम्झौता (एमसीसी) प्रस्ताव सदनबाट अनुमोदन गराउने विषयमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले प्रधानमन्त्री देउवालाई साथ नदिएपछि बढ्दै गएको गठबन्धनबीचको दरारमा विपक्षी दल नेकपा एमालेको प्रवेश भएको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीको पक्षमा मत दिन नसक्ने अडान दोहोर्याएपछि आजका लागि सामान्य छलफलको कार्यसूचिसहितको संसद बैठक शुक्रबारका लागि सूचना टाँस गर्दै स्थगित भएको थियो। प्रतिनिधि सभाको अपरान्ह १ बजेको बैठक २ बजेतिर बस्दै नबसी स्थगित भएलगत्तै प्रधानमन्त्री देउवाले एमसीसी प्रस्तावको विषयमा साथ र समर्थन जुटाउन विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद भवन नयाँ वानेश्वरमा करिब साढे २ घण्टा सामूहिक र एक्लाएक्लै वार्ता गरे। वार्तमा सहभागी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बैठकस्थलबाट बाहिरिने क्रममा एमसीसीका कारण सत्तारुढ पाँच दलीय गठबन्धनमा समस्या उत्पन्न भएको भन्दै गठबन्धन नै धरापमा परेको बताए। साथै उनले एमसीसीको विषयमा गठबन्धनका सहयात्री दलहरुबीच सहमति नभएपछि बाँकी विषयमा मिलेर अघि बढ्न सक्ने सम्भावना नभएको पनि थापाले बताए। एमाले अध्यक्ष ओलीसहितका नेताहरुसँग भएको छलफलको विषयमा देउवाले यसअघिको सरकारले सदनमा दर्ता गरेको एमसीसी प्रस्ताव अनुमोदनको प्रक्रियामा एमालेको साथ र समर्थन खोजेका थिए। तर, विगत लामो समयदेखि सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनेदेखि आफूले कारबाहीको सिफारिस गरेका १४ पूर्व एमाले र वर्तमान नेकपा एसका सांसदको सांसद सदस्य पद खारेजी लगायतका पूर्वसर्त आजको छलफलका क्रममा पनि दोहोर्याएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। यसका बाबजूद प्रधानमन्त्री देउवा र नेकपा एमाले अध्यक्ष ओली आजै साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर एमसीसी लगायत समसामयिक राष्ट्रिय राजनीतिमा देखिएका समस्या समाधानबारे छलफल गर्ने सहमतिका साथ वानेश्वरबाट बाहिरिएका छन्। यदी माओवादी र नेकपा एसले आफ्नो अडान कायमै राखेर सरकारको नेतृत्वलाई असफल बनाउने प्रयास जारी राखेमा देउवाले विकल्पको रुपमा एमालेसँग कुनै पनि सहमति गरेर अघि बढे अनौठो नमाने हुने स्थिति आएको एक नेताले बताए।  
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update