बहुचर्चित अमेरिकी विकास सहयोग अनुदान सम्झौता (एमसीसी)को विषयलाई लिएर बढ्दै गएको असहमतिका बाबजूद सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच अझै पनि सहमतिको खोजी गर्ने प्रक्रियालाई लम्ब्याउने रणनीतिका साथ शुक्रबारको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ।
एमसीसी प्रस्तावको पक्षमा मतदान गर्न भन्दा सत्ता छोड्न तयार देखिएका माओवादी र नेकपा एसले परिस्थितिको मूल्यांकन गर्दै यसबारे कांग्रेससँग थप वार्ता गरी बिचको बाटोबाट सहमतिको खाका कोर्ने तर्फ लचकता देखाएपछि सरकारको आग्रहमा आजका लागि तय गरिएको संसदको बैठक आइतबारसम्का लागि सभामुखले सूचना मार्फत स्थगित गरेका हुन्।
पछिल्लो समय एमसीसीको पक्षमा उभिन भन्दा परिआए सत्ताबाट बाहिरिन तयार देखिएका माओवादी र नेकपा एसको अडानले आजित भएका प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान गठबन्धनको विकल्पका रुपमा एमालेसँग पनि वार्ता अघि बढाएका थिए।
तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका कतिपय असम्भवप्राय माग सम्बोधन गर्न नसक्ने बुझाइमा रहेका देउवाले दीर्घकालिन हितका लागि सकेसम्म वर्तमान गठबन्धनभित्रै सहमतिको प्रयासलाई अझै पनि जारी राखेका छन्।
आजै बिहान मात्रै माओवादी र नेकपा एसका नेताहरुबीच भएको अनौपचारिक कुराकानीका क्रममा अझै पनि वर्तमान गठबन्धनलाई कायम राख्ने विषयमा छलफल र सहमतिको प्रयास गर्नेबारे भएको छलफल र यसको जानकारी देउवालाई दिएपछि सरकार पनि संसदमा पेश भएको एमसीसी प्रस्तावमाथिको छलफल आइतबार गरेर टुंगोमा पुग्न तयार भएको स्रोतको दाबी छ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय