हिमाल दैनिक
बहुचर्चित अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विषयलाई लिएर बढ्दै गएको विभाजनले अन्ततः सत्तारुढ गठबन्धन नै धरापमा पर्ने स्थिति उत्पन्न भएपछि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले गठबन्धनलाई भत्किन नदिन पनि लचकताको रणनीति अपनाउने निर्णय गरेको छ। विशेषगरी एमसीसी प्रस्ताव पारित गराउने विषयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेसँग पनि समानान्तर ढंगले वार्ता जारी राखेपछि एमसीसीको विपक्षमा उभिँदै आएको माओवादी आफ्नो अडानबाट हच्किन बाध्य भएको हो। शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पार्टीका शीर्ष नेता तथा पूर्वस्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकले सत्तारुढ गठबन्धनलाई कायम राख्दै एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनु पर्ने निर्णय गरेको हो। यसका बाबजूद पनि यदि गठबन्धन कायम नरहने स्थिति उत्पन्न भएमा पार्टीले नयाँ रणनीति तय गर्ने बताइएको छ। दाहाल निवासमा भएको बैठकले संविधानको रक्षार्थ ७ महिना अघि तयार भएको सत्ता गठबन्धनलाई भत्काएर जाने अवस्थाले देश र जनताको हित नगर्ने निष्कर्ष निकाल्दै यथासम्भव वर्तमान गठबनधनलाई जोगाइ राख्नुपर्ने निचोड निकालेको हो। विगत केही महिनादेखि विभिन्न मागहरु राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरोध गर्दै गर्दा संसदले कतिपय राष्ट्रिय महत्वका विषयमा समेत छलफल हुन नसकिरहेको अवस्थामा एमसीसी सम्झौताका केही प्रावधानमा पार्टीको अझै फरक मत रहेपनि राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै गठबन्धन जोगाइराख्नु पर्नेमा अधिकांश नेताहरुको जोड रहेको थियो। माओवादीका तर्फबाट विगतमा प्रधानमन्त्री तथा मन्त्री भएका नेताहरु नै एमसिसी सम्झौताको विभिन्न कालखण्डमा सहभागी भएकाले अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रश्न पनि उठ्नेमा नेताहरु एकमत दखिएको बताइएको छ। आजको बैठकमा समग्र कोणबाट छलफल भएको र प्रतिनिधिसभामा एमसिसी पारित गर्ने सन्दर्भमा बहिस्कार गरेर वा अन्य कुनै विधिमार्फत पारित गर्न सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको जानकारी माओवादी नेता हरिबोल गजुरेलले दिए। एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको असहमति रहेपनि त्यसलाई एउटा निष्कर्षमा पुर्‍याएर गठबन्धन कायम राख्नुपर्छ भन्नेमा मतैक्यता रहेको नेता गजुरेलले बताए। यस्तै माओवादीका अर्का नेता शक्ति बस्नेतले अनुसार गठबन्धन कायम राख्दै अनेकन विकल्पमा छलफल गर्ने र एउटा निकास निकाल्ने प्रयत्न जारी रहेको बताए। गठबन्धन जोगाउनै नसकिने अवस्था भयो भने अर्को कुरा भयो, अन्यथा यसलाई कायम राखेर अनेकन विकल्पमा छलफल गर्ने र एमसिसी सम्झौतालाई पनि एउटा निकास दिनुपर्छ भन्नेमा माओवादीका नेताहरु एक मत देखिएको नेताहरुको भनाई छ। बिहिबारको प्रतिनिधि सभा बैठकमा माओवादी र सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने स्थिति बनेपछि अन्तिम समयमा सरकारका प्रधानमन्त्री देउवाले संसद बैठक स्थगित गर्दै तत्काल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो र चरणबद्ध छलफल गरेका थिए। सत्तामै रहेका दलहरुले सरकारको प्रस्तावमा साथ र समर्थन छाड्ने अवस्था आएमा देउवाले एमालेसँग पनि सहमति गरेर अघि बढ्न सक्ने परिस्थितिको निर्माण हुँदैगएपछि माओवादी र नेकपा समाजवादीलाई अप्ठ्यारो परिस्थितिको सामना गर्नु पर्ने वातावरण उत्पन्न भएको हो। फलस्वरुप आजै मात्र अध्यक्ष दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फोनमार्फत धनगढीबाट फर्किन आग्रह गर्दै उनी फर्किएलगत्तै अहिले नेपालसँग वार्ता जारी राखेका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update