हिमाल दैनिक
निधिको अहिंसात्मक सिद्धान्त र आदर्शको बाटोबाट शान्ति र स्थायित्व सम्भव छः प्रम देउवा
Mahendra nidhi deuba
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पूर्व महामन्त्री महेन्द्रनारायण निधिले अंगिकार गरेको गान्धीवादी अहिंसात्मक राजनीतिक सिद्धान्त र आदर्शको बाटोबाट मात्रै देशमा स्थापित लोकतन्त्रिक संविधान र शासन व्यवस्था सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। नेपालका गान्धीवादी नेताका रुपमा परिचित पूर्व महामन्त्री महेन्द्रनारायण निधिको सयौँ जन्मजयन्तीको अवसरमा शनिबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा प्रजातन्त्रको प्राप्तिका लागि सात सालको लडाई लडेका महेन्द्रनाराण निधिले त्यसपछिको राजनीतिक जीवन अहिंसात्मक लडाइमा खर्चिएको बताए। पहिलो जननिर्वाचित संसदको उपसभामुख पदमा रहेका काम गरेदेखि देशमा प्रजातन्त्र प्राप्तिका अनेक लडाइमा गान्धीवादी अहिंसात्मक सिद्धान्त र आदर्श बोकेका महेन्द्रनाराण निधिको ठूलो योगदान रहेको पनि देउवाले बताए। ‘सात सालपछि १५ सालको संसदमा उपसभामुख बनेका नेता गान्धीवादी अहिंसावादी नेता हो। आजको दिनमा पनि मलाई लाग्दछ, उहाँको सिद्धान्त र आदर्शको बाटोबाट हिँड्न सके मात्रै देशमा प्राप्त लोकतन्त्र, संघीय शासन व्यवस्था र समावेशीताकोे कार्यान्वयन अझ बढी सुदृढ हुने कुरामा विश्वास गर्दछु,’ देउवाले भने। यसका साथै देउवाले निधि जस्तो गान्धीवादी नेताको दर्शनलाई महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले अझ बढी प्रचारप्रसार गर्न उनको बारेमा जनतालाई सुसूचित गराउन जरुरी भएको बताए। कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले निधिले अपनाएको राजनीतिक जीवन दर्शले नेपाली राजनीतिककर्मी मात्र नभई समग्र समाज सेवामा संलग्न व्यक्तिहरुलाई पनि प्रेरणा दिएको बताए। देशको वर्तमान अवस्था समग्र रुपमा एउटा देशसँग भएको अनुदान सम्झौता एमसीसीको विषयमा केन्द्रित हुँदा निधिको योगदानबारे कसैको ध्यान जान नसकिरहेको अवस्थामा पनि प्रतिष्ठानले भर्चुअल माध्यमबाट छलफल चलाएर राम्रो कार्य गरेको उनले बताए। वर्तमान अवस्थालाई ०६२/०६३ साल अघिको हिंसाको चपेटामा परेको देशको समग्र स्थितिसँग तुलना गर्दा सन्तुष्टी लिन सकिने केही आधार भएपनि मुलुक शान्ति प्रक्रियाबाट फेरि हिंसाको चपेटाबाट पूर्णरुपले मुक्त भइसकेको भन्न नसक्ने स्थिति विद्यमान रहेकोतर्फ सजग हुनुपर्नेमा थापाको जोड थियो। शान्ति सम्झौतामा हस्ताक्षर गर्दैगर्दा हिंसाको अन्त्यमात्रै मुलुकको अपेक्षा नभएको बताउँदै उलने देशको अपेक्षा समग्र संरचनागत हिंसाका आधार कमजोर पार्दै समानता, समावेशीताको बाटोमा पुग्ने संकल्प प्राप्ति गर्न अझै पनि बाँकी रहेको उनले बताए। महेन्द्रनारायण निधिको पुस्ताकोबारे हेर्दा र पढ्दा अन्ततः भूइतहमा बसेको नागरिकले आफ्नो जीवनमा तात्विक बदलाव के आयो भन्ने कुराको समिक्षा गर्न पनि जरुरी भएको बताउँदै उनले विगतको पुस्ताले भन्दा अहिलेको पुस्ताले लोकतन्त्रमा डेलिभरी क्षमता राखेको खण्डमा मात्रै नागरिकले सेलिब्रेट गर्न सक्ने धारणा राखे। महेन्द्रनाराण स्मृति प्रतिष्ठानका संरक्षक तथा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले हेन्द्रनारायण निधिले भलै सात सालको सशस्त्र क्रान्तिमा सहभागी भएपनि उनी शान्तिवादी नेता रहेको निधिले बताए। प्रथम जननिर्वाचित संसद र सरकारसँगै प्रजातन्त्रमाथि राजा महेन्द्रले कु गरेपछिको राजनीतिक जीवनमा महेन्द्रनारायणले नेपालभित्रै बसेर शान्तिपूर्ण आन्दोलनमा अधिकतम जनताको सहभागिता गराएर नै लोकतन्त्र पुनस्थापना गर्नु पर्छ भन्ने भनाइमा अडिग रहेको उनले बताए। ‘उहाँको त्यही राजनीतिक सिद्धान्त र दर्शन अहिले नेपालको राजनीतिमा स्थापित भएको छ,’ निधिले भने।। शान्तिपूर्ण अहिंसात्मक बाटोबाटै नेपालमा शान्ति प्रक्रिया सुरु भएर योसँग सम्बन्धित धेरै काम सम्पन्न भइसके पनि अझै पनि वेपत्ता छानविन तथा सत्य निरुपण तथा मेलमिलापको विषयमा काम गर्न अझै बाँकी रहेको उनले बताए। देशमा स्थापना भएको लोकतानित्रक गणतन्त्रात्मक प्रणालीमा संघीयता र गणतन्त्र दुई नयाँ संरचना भएको बताउँदै उनले त्यसको संस्थागत विकासका लागि अझै पनि केही गर्न जरुरी बताए। ‘अझै पनि संघीयताको सिद्धान्त अनुसार प्रदेशले पाउनु पर्ने कानूनी अधिकार पाउन सकिरहेका छैनन्। तीन तहबीचको सम्बन्ध र अधिकारका सूचिको कार्यान्वयनमा हामी सबैको ध्यान जान जरुरी छ,’ निधिले भने। अहिंसा र शान्तिपूर्ण राजनीतिक आन्दोलनको मार्गदर्शनको परिणाम स्वरुप देशमा शान्ति सम्झौता भएर अहिलेको उपलब्धि हाँसिल भएको बताउँदै नेता निधिले वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले पनि सबैलाई मिलाएर राष्ट्रिय राजनीतिलाई अघि बढाउन कोशिश गरिरहेको दाबी गरे। प्रधानमन्त्री देउवाले चालेको सहमति र सहकार्यको राजनीतिक यात्राको प्रयासलाई गठबन्धनमा रहेका दलसँगै विपक्षी दलले पनि साथ दिन जरुरी भएको बताउँदैसबै मिलेर राष्ट्रहितमा रहेको एमसीसी प्रस्ताव अनुमोदन गर्नु पने निधिले बताए। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले महेन्द्रनारायण निधिले अघि सारेको गान्धीवादी विचार र योगदान नेपालको राजनीतिक इतिहासमा अहिले पनि सुरक्षित रहेको बताउँदै प्रतिकूल अवस्थामा पनि लोकतान्त्रिक आन्दोलनमा अडिग भएर लागिरहने निधि प्रेरणाको स्रोत भएको दाबी गरे। भौगोलिक रुपमा तराई र समुदायका हिसाबले मधेसी भएपनि महेन्द्रनारायण निधि समग्र देश, जाति, धर्म, समुदायको प्रजातन्त्रवादी साझा नेता भएको पोखरेलले बताए। देशका राजनीतिक शक्ति एकताबद्ध हुँदा लोकतन्त्रवादीहरुले जितेको र निहित स्वार्थमा विभाजित हुँदा धेरै कुरा गुमाएको बताउँदै पोखरेलले लोकतन्त्रको रक्षाका लागि क्षणिक स्वार्थ भन्दा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर हिँड्नु आजको आवश्यकता भएको उनले बताए। कार्यक्रममा भारतीय गान्धीवादी समाजसेवी सुरेन्द्र कुमारले महेन्द्रनारायणले अंगिकार गरेको गान्धीवादी अहिंसात्मक बाटोबाटै नेपालको राजनीतिलाई अघि बढाउन सुझाव दिएका थिए।  
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update