हिमाल दैनिक
गठबन्धन कायम रहन्छ, परिमार्जनसहित एमसीसी पनि पारित हुन्छः माओवादी नेता बिडारी
Ramnarayan Bidari
नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद रामनारायण बिडारीले यो गठबन्धन कायम राख्दै अमेरिकी सहयोग सम्झौता एमसीसी परिमार्जनसहित पारित हुने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता बिडारीले एमसीसी परिमार्जनसहित संसद्बाट अनुमोदन हुने दाबी गरे। उनले भने, ‘एमसीसी संशोधनसहित पारित गर्नुपर्छ। यो बीचमा भएका पत्राचार हामीले हेर्न पाएका छैनौं। ८ देखि १० पत्र टेबुल हुनुपरयो। भविष्यमा अमेरिकाले बनाउने र लिने नीति मान्छु भन्ने कुरा राख्नुहुँदैन। यसमा व्याख्यात्मक टिप्पणी हुनुपर्छ। यो व्याख्या नेपाली संसदले गर्नुपर्छ। हामी सबै कार्य गर्नको निम्ति, अध्ययन गरेरमात्रै टुँगो लगाउँछौं।’ आफ्नो पार्टीले यथास्थितिमा एमसीसीको पक्षमा मतदान नगर्ने अडान दोहोर्याउँदै विडारीले भने, ‘माओवादीले एमसीसीको पक्षमा मतदान गर्दैन्। अहिले मतदान गर्दैन। अहिलेको अवस्थामा हाम्रो पार्टीले यसको पक्षमा मत हाल्दैन्। अमेरिकी अनुदान लिने हो, तर नेपाललाई हित हुनेगरि लिने। सम्झौतामा लेखिएका भाषा र शब्द मिलाउने कुरा छ, यसमै सहमति हुन्छ। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रष्ट रुपमा वर्तमान गठबन्धन कायम राख्ने भनेर धारणा राखिसकेकोले गठबन्धन नटुट्ने दाबी पनि गरे। उनले भने, ‘उहाँको प्रष्ट धारणा छ यो गठबन्धन टुट्दैन। एमसीसी पास हुन्छ। हामीले पनि गठबन्धन टु्ट्दैन भनेका छौं।’
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update