प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता तथा सांसद शेरबहादुर तामाङले मुलुकको राष्ट्रिय राजनीति अहिले तरल अवस्थामा रहेको बताएका छन्।
रिपोर्टस क्लबको कार्यक्रममा शनिबार बोल्दै एमाले नेता तामाङले अब राजनीति सग्लो हुनेको लागि अझै एक÷दुई दिन लाग्न सक्ने बताए।
उनले मुलुक अहिले निर्वाचनमा केन्द्रित हुनुपर्ने बेलामा मुलुकको ध्यान अन्तै मोडिएको बताए।
उनले भने, ‘अहिले मुलुकको राजनीति एमसीसीमा केन्द्रित भएको छ। एमालेले हिजो नेकपा कालिन अवस्थामा एमसीसी अनुमोदनको लागि संसद्मा ल्याएकै हो। कांग्रेस र माओवादीको सरकार हुँदा एमसीसी सम्झौता भएकै हो। आज एमसीसीबारे आम नागरिकको स्तरबाट प्रश्न उठेको छ। एमसीसी संसद्बाट अनुमोदन भएकै राम्रो हो। सरकार अस्थिर बनेकोले यो विषय संसद्बाट पारित गर्ने कुरा भएको हुनसक्छ, पार्टीगत रुपमा बहस गर्दा आम नागरिकको बीचमा यो एमसीसी गिजोलियो।’
उनले एमसीसीबारे मिडिया, सामाजिक सञ्जाल र डबलीमा विरोध भएपनि यसको सही रुपमा छलफल त पार्लियामेन्टमा हुनुपर्ने बताए।
उनले भने, ‘यो प्र्रस्ताव प्रस्तावकले संसद्मा उठेका विषय प्रष्ट पार्नुपर्छ। ती दृष्टिकोण प्रष्ट भएपछि, संशोधन गर्दा पनि यो सहित पास हुन्छ। सत्ता पक्षले हुन्छ भनेर नै हात उठाउनुपर्छ। सरकारको प्रस्ताव हुन्न भन्ने हो भने एक मिनेटपनि सरकारमा बस्न मिल्दैन्। तर, साथीहरुले द्धेद्ध चरित्र देखाएका छन्।’
संसद्मा एमालेको गतिरोध कायमै रहेको बताउँदै उनले भने, ‘संसद्को गतिरोध हट्नको लागि उहाँहरुले हाम्रो माग पूरा गर्नुपर्छ, या त हामीले कारबाही गरेका १४ जना सांसदहरुलाइृ कारबाहीको सूचना टाँस्नुपर्यो, या त सभामुखलाई कारबाही हुनुपर्छ। छिनोफानो हुन जरुरी छ। सभामुखले आफ्नो बारेमा आफ्नो निर्णय गर्नुपर्छ। अहिले सत्तारुढ दलले सडकमा कार्यकर्ता उतार्ने काम पनि गरिरहेका छन्, उता सदनमा अर्के कुरा गरेका छन्। यो विषय अन्त्य हुनुपर्छ। पार्लियामेन्ट खुल्यो भने हामीले आफ्नो दृष्टिकोण राख्छौं। संशोधनको कुरा राख्छौं। यदि पार्लियामेन्ट खुलेन भने एमाले संसद् अवरोधकै अवस्थामा रहन्छ।’
उनले भोलिको करिब करिब मध्यरातसम्म माओवादी र नेकपा एसहरु एमसीसी पास गर्ने पक्षमा उभिने ठोकुवा गरे। उनले भने, ‘उहाँहरु एमसीसी पारित गर्ने पक्षमा उभिनुहुन्छ। अहिले सरकारसँग एमसीसी पास गर्नको लागि बहुमत छ। एमाले उभिनुपर्ने या नपर्ने जरुरी छैन्। संसद् अवरोधको अवस्था नखुलाएसम्म हामी छलफलमा भाग लिँदैनौं। हामी पक्षमा भोट हाल्दैनौं।’
लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री जितेन्द्र सोनलले आफूहरु सुरुदेखि नै एमसीसीको पक्षमा उभिएको बताएका छन्। उनले एमसीसी सम्झौताको हकमा आफ्नो पार्टीमात्रै केही कुरा पनि सहभागी नभएको जिकिर गरे। तर, देशको विकासकोलागि यो अनुदान लिनुपर्छ भनेर आफूहरुले भनेको स्पष्ट पारे।
उनले भने, ‘लोसपा एमसीसीमा आवद्ध छैन्। तत्कालिन नेकपाको सरकार हुँदा अर्थमन्त्री युवराज खतिवडाले एमसीसीलाई अघि बढाउँदा प्रचण्ड र माधव नेपालहरु पनि सँगै थिए, अहिलेको जसपाका अध्यक्ष उपेन्द्र यादव पनि त्यही क्याविनेटमा उपप्रधानमन्त्री हैसियतमा बसेका थिए।’
अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार रहेको उल्लेख गर्दै उक्त सरकारमा उपेन्द्र यादव, प्रचण्ड र माधव नेपालका साथीहरु पनि सामेल रहेको सुनाए। तर, एमसीसीको हकमा भने प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले दोहोरो चरित्र देखाएको उनको गुनासो छ।
उनले भने, ‘उहाँहरु अहिले डबल स्टाण्र्ड देखाउनुभएको छ। क्याविनेट, सडक र सदनमा बेग्लाबेग्लै कुरा गर्नुभएको छ। हिजो ओलीले अघि बढाउँदा पनि हामी सरकारमा थिएनौं। अहिले पनि सरकारमा छैनौं। तर, दातृ निकायबाट ऋण र अनुदान पाउँछौं भने त्यसलाई हाम्रो देशको हितमा उपयोग हुनुपर्छ।’
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय