हिमाल दैनिक
अमेरिकी सहयोग सम्झौता (एमसीसी) प्रस्तावले गिजोलिएको राजनीतिक परिस्थितिको निकास खोज्ने कसरतमा लागेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना सहयोगीसहित विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेका छन्। सरकारमा सहभागी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा सांसदहरुले सरकारले अघि सारेको एमसीसी प्रस्ताव अनुमोदनको पक्षमा उभिन नसक्ने भन्दै सदन र सडकमा विरोध चर्काउन व्यस्त भएपछि प्रधानमन्त्री देउवाले सरकारसँगै राष्ट्रिय राजनीतिको स्थायित्व खोज्दै एमाले अध्यक्ष ओलीसँगको वार्तालाई तिब्रता दिएका हुन्। पछिल्लो समय चरणबद्ध रुपमा एमाले अध्यक्ष ओलीसहितका नेताहरुसँग पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएर देउवाले सहमतिको खोजी गरिरहेका छन्। शनिबार पनि सुरुमा दोस्रो तहका नेताहरुलाई ओली निवासमा पठाएर छलफल चलाएका देउवा अपरान्ह ५ बजेतिर बालकोटस्थित ओली निवासमा पुगेका छन्। देउवाले यसअघि ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्तावलाई तत्काल अनुमोदन गर्ने गराउने प्रक्रियामा एमालेको साथ र समर्थन मागिरहेका छन्। तर, एमाले अध्यक्ष ओलीले भने सरकारका प्रधानमन्त्री देउवा र उनको पार्टीको बसभन्दा बाहिर रहेका मागहरुः सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने अथवा आफ्नो पार्टी नेकपा एमालेबाट कारबाहीमा परेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई हटाउने पूर्वसर्त राख्दै आएका छन्। प्रधानमन्त्री देउवा र ओलीको हिमचिम बढ्दै गएपछि एमसीसी प्रस्तावको विपक्षमा रहँदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उत्तरी छिमेकी राष्ट्रको दबाबसँगै कार्यकर्ताको चाहानाविपरित एमसीसीको पक्षमा उभिने कि चुनावको मुखमा सत्ताबाहिर रहेर आउन सक्ने परिणाम भोग्ने भन्ने सकस परिरहेको छ।  
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update