हिमाल दैनिक
सत्ता गठबन्धनलाई जोगाउन अन्ततः सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु बहुचर्चित अमेरिकी सहयोग सम्झौता (एमसीसी)को व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्न सहमति भएका छन्। विगत एक हप्तादेखि नेपाली राजनीतिमा देखिएको अलमल र अन्यौलतालाई चिर्दै आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसीसीबारे उठेका आशंकाहरुलाई मेट्न व्याख्यात्मक टिप्पणीसहित एमसीसी प्रस्ताव संसदबाट अनुमोदन गर्ने सहमतिमा पुगेका हुन्। नेपाली कांग्रेसका एक नेताका अनुसार, बालुवाटारमा जारी बैठकले तयार पारेको व्याख्यात्मक टिप्पणीलाई आज अपरान्ह बस्ने संसद बैठकमा पेश गरी सम्भवत् आजै उक्त प्रस्तावसहित एमसीसी प्रस्ताव पनि अनुमोदन गर्ने तयारी भइरहेको छ। तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले ०७६ असार ३० गते संसद सचिवालयमा अनुमोदनका लागि दर्ता गरेको एमसीसी प्रस्तावमा तत्कालिन सरकारमा रहेको नेकपा हालको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुले राष्ट्रियताको विषय उठाउँदै अनुमोदन गर्न नहुने अडान लिँदै आएका थिए। उनीहरुले चलाएको अभियानका कारण पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी मुख्यालयसँग भएको सहमति अनुसार सदनबाट पारित गराउन फागुन ८ गते सदनमा प्रस्ताव पेश गराएका थिए। तर, सत्तासाझेदार दल माओवादी र नेकपा एससहितका नेता, कार्यकर्ताले सदनदेखि सडकसम्म एमसीसीको विरोध चर्काएपछि सत्ता गठबन्धनको भविश्य नै धरापमा पर्दैगएको थियो। माओवादी र नेकपा एसले साथ नदिए देउवाले विपक्षी नेकपा एमालेसँग सहमति कायम गरेर अघि बढ्ने सम्भावना बढ्दै गएपछि माओवादी र नेकपा एस व्याख्यात्मक टिप्पणीको साहारामा एमसीसी अनुमोेदनका लागि तयार भएका हुन्।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update