हिमाल दैनिक
सामान्य अनुादन सम्झौतालाई हामी आफैँले भूलबस बाँदरको घाउ जस्तो बनायौँः भट्टराई
baburam-bhattrai
जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकी सहयोग सम्झौता एमसीसी सामान्य अनुदान सम्झौता भएपनि आफ्नै त्रुटिका कारण बाँदरको घाउ जस्तो गिजोलिएको बताए। एमसीसीको विषयमा विगतमा जसरी यो विषयमा जनतालाई अतिरञ्जित प्रकारले भ्रममा पारेर कसैलाई राष्ट्रवादी र राष्ट्रघातीको कित्तामा राख्ने कार्य गरेपनि अहिले ढिलै भएपनि पातालो टालो रुपी व्याख्यात्मक टिप्पणीले लाज ढाक्ने कोशिश गरेको भट्टराईले बताए। उनले ०६६ साल यताका ८ जना प्रधानमन्त्रीहरुको पालाबाट यो एमसीसी सम्झौताको प्रक्रिया सुरु भएर अघि बढेको बताउँदै यदी गल्ती थियो भने त्यतिबेला कानमा तेल हालेर बसेका थियौँ? भन्दै प्रश्न गरे र भने, यदी राष्ट्रघात हो भने राजनीतिबाट सन्यास लिएर बस्ने हिम्मत गर्न चुनौति दिए। भट्टराई अघि बोल्ने क्रममा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफूले कुनै प्रक्रियामा संलग्न नभएको भनेपनि भट्टराईले उनलाई कटाक्ष गरे। साथै उनले गाउँघरमा ऋण लिँदा लेखिने तम्सुकमा जस्तो एमसीसीमा पनि केही कुरा घोच्ने खालका भएपनि विस्तृतमा पढ्दा कुनै आपत्तिजनक विषय नभएको बताए। उनले एमसीसीको विषय गिजोलिनुमा तीन कारण रहेको भन्दै बदलिँदो भूराजनीति र शीत युद्धपछिको नयाँ शीतयुद्धको नयाँ सीमाको छायाँमा नेपाल पनि परेको भन्दै सामरिक द्वन्द्धको बाच्छिटा नेपालमा पनि परेको बताए। दुई ठूला देशको विचमा बसेको नेपालले सन्तुलन कायम कसरी गर्ने भन्ने सवालमा एउटा पक्षसँग लम्पसार परेर जाने अथवा पराम्परागत राष्ट्रवादको छाता ओढेर शक्ति राष्ट्रको मातहतमा रहन नसक्ने बताए। अर्र्कोतर्फ नेपाल स्वीजरल्याण्डको जस्तो स्वतन्त्र रुपमा अथवा सिंगापुरको जस्तो अथवा फिनल्याण्डको बाटोबाट कुन उपयुक्त हुन्छ भन्नेमा सिंगापुरले अमेरिकासँग सहयोग लिएर चीन लगायतका शक्ति राष्ट्रसँग सुमधुर सम्बन्ध राख्यो र विकास गर्यो। हामीले सिंगापुर र फिनल्याण्डको बाटो लिन सकिन्छ कि सोचौँ। विगतमा कम्युनिष्ट पार्टीमा रहँदा भन्दै आएको साम्राज्यवादको कुरा साठी, सत्तरी वर्ष अघिको सोचले नहेर्न भन्दै माक्सको पालाका समाजवादीहरु अहिले साम्राज्यवादी मुलुकमा परिणत भएको बताए। उनले नेपाल जस्तो पिछडिएको देशले यदी दुई अंकको आर्थिक बृद्धिदर हाँसिल गर्र्न कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत विकास कार्यमा लगानी गर्नु पर्ने बताउँदै अहिले लगानीमा आवश्यक पूँजि र प्रविधिका लागि भारतसँग बिप्पा, चीनसँग बिआरआई तथा अमेरिकासँग एमसीसी सम्झौता गरेर विकास गर्न जरुरी छ। अन्यथा राष्ट्रवादको नारा जपेर बस्ने अवस्थामा देशमा कुनै युवा नबसेर बुढाबुढी मात्रै रहने स्थिति आउने भन्दै सबैले एकमतले यो प्रस्ताव पारित गर्न माग गरे। साथै उनले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कटाक्ष गर्दै जनतामाझ गएर हिँजो हामीले बुभिएनछ, अहिले बुझ्यौँ भनेर आफ्ना कुरासँगै यसबारे जनतालाई प्रष्ट पार्न सुझाव दिए। साथै उनले राजनीति भनेको सम्भावनाको खेल मात्र नभएको बताउँदै कतिपय अवस्थामा यो सत्यानास र अप्रियताको बाटो मध्ये एकको रोजाइ पनि हो भन्दै अहिले सत्यानासको बाटो भन्दा अप्रियता नै भएपनि एमसीसीलाई अनुमोदन गर्न सुझाव दिए।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update