हिमाल दैनिक
मकवानपुर कांग्रेस सभापतिमा दोस्रो बनेका पराजुलीको समर्थनले लामा निर्वाचित
Screenshot_20220301-132726_Messenger
नेपाली कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको छ। पार्टीको १४ औं अधिवेशन अन्तरगत भएको जिल्ला अधिवेशनमा पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये सबैभन्दा बढि मत ल्याएका बुद्धा लामा ब्लोनलाई दोस्रो भएका आनन्दराम पराजुलीले दोस्रो चरणको निर्वाचनमा जानुअघि नै सभापतिमा समर्थन जनाएपछि लामा सहमतिका आधारमा मकवानपुरको सभापति बनेका हुन्। यसअघि २०४६ सालअघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेस मकवानपुरको नेतृत्व गरेका थिए। बागमती प्रदेश संसदीय दलका नेता तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थनमा सभापतिको उम्मेदवार बनेका लामा र पार्टी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायको समर्थनमा उम्मेदवार बनेका पराजुलीबीच सहमतिको वातावरण निर्माणका लागि बानियाँ र उपाध्यायले पहल गरेका थिए। केन्द्रमा उपाध्याय र बाँनियाँ दुबै संस्थापन पक्षका भएपनि जिल्ला नेतृत्वका लागि सहमति कायम गराउन नसकेपछि पहिलो चरणको निर्वाचनमा लामा र पराजुली जो पहिलो हुन्छ उसलाई दोस्रो उम्मेदवारले समर्थन जनाउने सहमति बनेको जिल्लाका नेताहरु बताउँछन्। सोही सहमतिका आधारमा लामालाई पराजुलीको समर्थन गराउन उपाध्याय र बाँनियाँ सफल भएपछि दुबै नेताले पार्टीमा लामो योगदान गरेका लामाप्रति न्याय गरेको कांग्रेसजनहरुले तर्क गरेका छन्। निर्वाचनअघि कार्यवाहक सभापति विष्णु लामिछानेलाई सभापति र लामा र पराजुलीलाई उपसभापति बनाउने बानियाँको प्रयास असफल भएको थियो। त्यसपछि लामा र पराजुली जसले पहिलो चरणमा बढि मत ल्याउँछ उसलाई दोस्रो चरणमा सहमतिमा नेतृत्व दिने भद्र सहमति भएको चर्चा थियो। दुबै उम्मेदवारबीच सहमति भएपछि नेपाली कांग्रेसमा खुशीको संचार भएको भन्दै कांग्रेस कार्यकर्ताहरुले खुशीयाली मनाउन थालेका छन्। यसले आगामी स्थानीय तहको निर्वाचनमा सकारात्मक सन्देश भएको र यसले जिल्लामा कांग्रेसले सुखद नतिजा ल्याउने जनाईएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update