नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन गरेर चुनावमा जानुपर्ने परिस्थिति देशमा उत्पन्न भएको बताउँदै यसबारे छलफल भइरहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन पुगेका नेता नेपालले संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेबाट लगातार सदन अवरुद्ध गर्ने कार्य जारी रहेको अवस्थामा संसद प्रभावकारी बन्न नसकेको भन्दै यस्तो अवस्थामा संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे प्रमुख राजनीतिक दलका नेताहरुबीच छलफल भइरहेको जानकारी दिए।
आफ्नो पार्टीका १४ जना सदस्यलाई कारबाहीको सिफारिस गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले सत्ता गठबन्धनसँगको मिलोमतोमा नियम बमोजिम केही नगरेर नेकपा एसका सांसदको हैसियत दिएको भन्दै विगत केही महिनादेखि एमालेले संसदमा सभामुखको राजीनामा अथवा १४ जना सदस्यमाथिको कारबाहीको माग गर्दै प्रत्येक बैठकमा अवरोध र नाराबाजी गर्दै आइरहेको छ।
पछिल्लो समय सत्तारुढ दलका शीर्ष नेताहरुबीच संसद विघटन गरी अर्लि चुनावमा जाने हल्लाबारे सोधिएको प्रश्नको जवाफमा नेता नेपालले भने, ‘हल्ला चल्नु त स्वाभाविक हो नि। हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न पनि नदिने, हाउसलाई पंगु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने र त्यस्तै हो भने, त्यो भन्दा पहिल्यै नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई संसद भंग गरिदिने। त्यसपछि न संसद रहँन्छ, न हंगामा गर्ने ठाउँ नै रहन्छ।’
कहिलेसम्ममा संसद भंग हुनसक्छ? स्थानीय तहको निर्वाचन अगाडी कि पछाडी भन्ने विषयमा सोधिएको प्रश्नको जवाफमा यसबारे छलफल भइरहेको बताउँदै सम्भवत् तीनै तह, संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक पनि हुन सक्ने सम्भावना रहेको उनले बताए।
कुनै कालखण्डमा नेकपा एमालेको शक्तिशाली महासचिव तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका सहयात्रीको भूमिका निर्वाह गर्दै आएका नेता नेपालले पछिल्लो समय अध्यक्ष ओलीसँग गम्भीर मतभेद राख्दै नयाँ दल गठन गरेपछि ओलीप्रति सबैभन्दा चर्को आलोचना गर्ने नेताका रुपमा परिचित हुँदै आएका छन्। उनले ओलीको अलोकतान्त्रिक र असंसदीय गतिविधिले मुलुकलाई थप क्षति गरिरहेको बताउँदै संसदको विघटन गरी ताजा जनादेशमा गएको अवस्थामा ओलीको वितण्डा पनि समाप्त हुने दावी समेत गरे।
गत वर्षको पुस ५ गते तत्कालिन प्रधानमन्त्री तथा नेकपा डब्बलका अध्यक्ष ओलीले बहुमतको सरकार संचालन गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रतिनिधि सभाको विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए।
तर, उनको उक्त कदमलाई फागुन ११ गते सर्वोच्च अदालतले बदर गर्दै प्रतिनिधि सभा व्यूँताइदिएको थियो। त्यसपछिका दिनमा पनि ओलीले राष्ट्रपति भण्डारीको सहायतामा सत्ता र संसदलाई नियन्त्रण गर्दै पुनः जेठ ८ गते दोस्रो पटक संसद विघटन गराएका थिए।
उनको उक्त कदमको विरुद्धमा आफ्नै दलका सांसदहरुसहितको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा संसद पुनस्र्थापनाको मागसहितको रिट निवेदन दर्ता गरेपछि तत्कालिन सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते संसद पुनः व्यूँताइदिएर देउवालाई प्रधानमन्त्री बनाउन संसदलाई परमादेश जारी गरेको थियो।
त्यसपछि देउवाको नेतृत्वमा बनेको नेकपा माओवादी र पछि गठन भएको नेकपा एस लगायत मधेसी दलले देउवा सरकारको समर्थन मात्र गरेनन् उक्त सरकारमा सहभागी भएर सत्ता संचालन गर्दै आइरहेका छन्।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय