नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा सत्तामा रहेका प्रमुख राजनीतिक दलबीच सहकार्य हुने दावी गरेका छन्।
बुधबारबाट काठमाडौंमा सुरु भएको समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावको तयारीका सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी भइरहेको र मिलेर जाने सहमति भएको जानकारी दिए।
विगत लामो समयदेखि अनेक जिम्मेवारीमा रहेका बनाएको पुरानो पार्टी नेकपा एमालेलाई यसका अध्यक्ष केपी शर्मा ओलीले निरंकुशताबादी शैलीमा कब्जा गरेको कारण आफूहरुसँग आत्मसमर्पण र विद्रोह मध्ये एक विकल्प रोज्ने स्थितिमा कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँन विद्रोहको बाटोबाट नयाँ पार्टी गठन गरेको दाबी नेपालले गरे।
उनले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता पनि व्यक्त गरे।
साथै उनले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा कसरी आफ्नो पार्टीलाई बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुने बताए।
सत्ता गठबन्धनबीच विभाजन गर्दै गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको बताउँदै उनले उक्त षडयन्त्रहरुलाई आफूहरुले विफल पारिदिएको दाबी पनि गरे।
लामो समयदेखि संसदमा विचाराधिन अवस्थामा रहेको बहुचर्चित अमेरिकी अनुदान सहयोग सम्झौता एमसीसीको विषयलाई लिएर सरकारमा सहभागी कम्युनिष्ट घटकहरु विपक्षमा उभिन अडिग देखिएपछि गठबन्धन धरापमा परेको थियो। तर, अन्तिम समयमा एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव सदनबाट पारित गराएर यसमा एमसीसी र अमेरिकालाई मनाउने सहमतिमा गठबन्धन कायम रहेको थियो।
अध्यक्ष नेपालले पार्टीको अनुशासन र विधिहरु पालना गर्नुपर्ने भन्दै अराजकतालाई पार्टीभित्र स्वीकार गर्न नसकिने बताए। अध्यक्ष नेपालले आफ्नो पार्टीलाई जनताको आकांक्षा अनुरुप नै अघि बढाउनुपर्ने बताए।
नेपालले भने, ‘राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र रुपान्तरणको सवालमा जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ।’ नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरुप सुधार्न आवश्यक रहेको विचार व्यक्त गर्दै नेपालले कम्युनिष्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी रहेको धारणा राखे।
पार्टीको आगामी रणनीतिबारे चर्चा गर्दै उनले भने, ‘जनतासँग एकाकार भएर अघि बढ्छौँ, जनतालाई सचेतना प्रदान गर्छौं, कार्यकर्तालाई योग्य तुल्याउँछौँ, पार्टीका सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ, योजना र शक्ति परिचालन निर्वाचनमुखी हुनेछ।’
बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि ९ वटा समयूह बनाएर छलफल गरिने जानकारी पार्टी महासचिव वेदुराम भुसालले दिए।
साथै जारी बैठकमा पार्टी सचिवालय र पोलिटब्यूरोले गरेका निर्णय प्रस्तुत भई पारित गर्नेसमेत कार्यसूची रहेको जानकारी भुसालले दिए।
पार्टी प्रवक्ता जगनाथ खतिवडाले बैठकमा एमसिसीको विषयसमेत समेटिएको राजनीतिक प्रतिवेदन, आगामी कार्ययोजना, स्थानीय तह निर्वाचन तयारी, समसामयिक प्रस्ताव र सङ्गठन विस्तार योजनाका विषयमा विस्तृत र गहन छलफल हुने बताए।
बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी रहेका छन्।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय