हिमाल दैनिक
मिलेर चुनावमा गएमात्रै सफलता मिल्छ, नपत्याए अघिल्लो चुनावी परिणाम सम्झौँः प्रम देउवा
Deuba
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलहरुबीच तालमेल गरेर गएमात्रै आगामी स्थानीय तहदेखि प्रदेश र संघसम्मकै चुनावमा सहज सफलता हाँसिल गर्न र आगाम सरकार गठनमा सहयोग पुग्न सक्ने बताएका छन्। नेपाली कांग्रेस पर्सा जिल्ला अधिवेशनबाट निर्वाचन नयाँ कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्न बिहिबार वीरगञ्ज पुगेका देउवाले विगतमा कांग्रेस एक्लै चुनावमा उत्रँदा त्यसको परिणाम के थियो भन्ने विषयलाई नभुल्न भन्दै गठबन्धनको सरकार चलाउँदै गर्दा मिलेर चुनाव लडेको खण्डमा स्थानीय तहदेखि केन्द्रसम्मै सरकारको नेतृत्व लिने सक्ने विश्वास व्यक्त गरे। पार्टीभित्रैको अल्पमत पक्षका कतिपय नेताहरुले चुनावी तालमेल र गठबन्धनको विरोधमा अभिव्यक्ति दिँदैआइरहेको बेला प्रधानमन्त्री एवं सभापति देउवाले वर्तमान संविधानको व्यवस्था अनुसार, कुनै पनि पार्टीले एक्लै बहुमत हाँसिल गर्न नसक्ने स्थिति रहेको बताए। उनले भने, ‘यस्तो अवस्थामा कसै न कसैसँग मिल्नु पर्ने आजको आवश्यकता छ। त्यसैले गठबन्धनकै साथ र सहयोगमा सरकारको नेतृत्व पाएको र प्रधानमन्त्री बनेको हुँ। कतिपय ठाउँमा आपसी समस्या पनि हुन सक्लान्। जिल्ला, गाउँ अथवा कहीँ कतै समस्या भए आपसमा बसेर कुराकानीमार्फत सुल्झाउन सकिन्छ।’ सरकारको नेतृत्व लिने सवालमा आफूले नचाहँदा नचाहँदै पनि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र मधेस केन्द्रीत दलको साथ र सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर मिलेको देउवाले बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्तापित गर्दै नयाँ सरकार बनेपछि देशको प्रजातन्त्र र जनताका अधिकार रक्षामा राम्रो अवस्था आएको बताउँदै गठबन्धनको संस्कारलाई निरन्तरता दिने सन्देश दिए। साथै देउवाले गठबन्धनलाई एकसाथ लिएर जानु देश, प्रजातन्त्र र स्वयं कांग्रेसका लागि पनि हितकर रहेको बताउँदै पार्टीका नेता, कार्यकर्ताहरुले आफ्ना अभिव्यक्ति दिँदा गठबन्धनका अन्य घटकहरुलाई अनावश्यक जिस्क्याउने, होच्याउने, सशंकित पार्ने वा चिसो अनुभूति दिलाउने काम नगर्न निर्देशन दिए। अर्कोतर्फ देशमा नेकपा एमाले जस्तो बलियो र सशक्त संगठनात्क आधार भएको विपक्षी पार्टी रहेको बताउँदै एमालेभित्र एकता भएपनि कांग्रेसभित्र एकताको अभाव देखिएको धारणा व्यक्त गरे। देउवाले आफ्नो पार्टीभित्र बलियो एकता कायम गर्दै गठबन्धनलाई मिलाएर जानु नै श्रेयकर भएको भन्दै हालै संसदबाट पारित भएको बहुचर्चित अमेरिकी सहयोग अनुदान (एमसीसी) प्रस्ताव सबै पार्टीको सहयोगमा अनुमोदित भएको बताए। साथै उनले एमसीसीको विकास सहायता कुनै ऋणमा आएको नभई अनुदानमा आएको बताउँदै यसको सही सदुपयोगमार्फत देशको विकास, निर्माणमा सफलता हाँसिल गर्न सके आगामी दिनमा अन्य ठाउँबाट पनि विकास निर्माणको प्रक्रियामा अनुदान सहयोग मिल्न र देशको विकासगतिले तिब्रता पाउन सक्ने धारणा व्यक्त गरे। एमसीसीको सफल कार्यान्वयन हुन सकेको खण्डमा रोजगारीको अवसर श्रजना हुने र त्यसले राष्ट्रलाई सम्पन्नताको बाटोमा लान सक्ने बताउँदै भारत र चीन जस्ता विशाल छिमेकीहरुकोबीचमा रहेको नेपालले दुबै मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर जानु राष्ट्रिय आवश्यकता भएको उनले बताए।
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update