नेपाली कांग्रेस धनुषा जिल्ला सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्।
पहिलो चरणमा तीन जना उम्मेदवारमध्ये कसैले पनि विधानको व्यवस्थान बमोजिम ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि शुक्रबार दोस्रो चरणका लागि भएको निर्वाचनबाट पजियारले सन्तोष यादवलाई भारी मतले पराजित गर्दै सभापति बन्न सफल भएका हुन्।
शुक्रबार राति आएको मतपरिणाम अनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भए। कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरे भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए।
पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधिको गृहजिल्ला समेत रहेको धनुषामा पहिलो चरणमा केन्द्रीय सभापति शेरबहादुर देउवा निकट नेताहरुको समूहबाट यादव, नेता शेखर कोइराला पक्षधरको तर्फबाट दिनेश परसैला र निधिको समर्थनमा पजियार उम्मेदावर बनेका थिए।
कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याएका पजियार र यादवबीच प्रतिस्पर्धा भएको थियो।
दोस्रो चरणको निर्वाचनमा पजियारलाई कोइराला समूहका केन्द्रदेखि जिल्लासम्मकै नेताहरुले साथ र समर्थन दिएपछि यादव भारी मतअन्तरले पराजित भए।
विगत लामो समयदेखि देउवासँगै राजनीतिक सहयात्रा गर्दै आएका निधि गत महाधिवेशनमा देउवाविरुद्ध सभापतिका प्रत्यासी बनेपछि केन्द्रको असर जिल्ला तहसम्मै पुगेको हो।
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय