पटक पटक आफैँले विघटन गरेपनि सर्वोच्च अदालतको आदेशबाट पुनस्थापित संसद र त्यसबाट बनेको सरकारलाई सदनदेखि सडकसम्म असहयोग गर्दै पंगु बनाउन प्रयासरतनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भत्ता खाने थलो बाहेक केही नभएको दाबी गरेका छन्।
विगत केही महिनादेखि निरन्तर सदनभित्र नाराबाजी र अवरोध गर्दै आएको एमाले र यसका सांसदहरुले सदनभित्र देश र जनताको विषयमा छलफल हुन नदिएपछि दैनिक भत्ता भने नछाडेको विषयलाई चटक्कै बिर्सिएर एमाले अध्यक्षले यस्तो आरोप लगाए।
एमाले निकट नेपाल निजामति कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार पूर्व प्रधानमन्त्री ओलीले वर्तमान संसदको औचित्य नभएको भन्दै ताजा जनादेशबाट नयाँ संसद गठनको माग गरे।
‘पुरानो जनादेशले जबसम्म काम गर्छ तबसम्म पाल्र्यामेन्ट रहन्छ, त्यो जनादेशले काम गर्न छोड्यो भने फेरि जनताकोबीचमा गएर नयाँ, ताजा जनादेश प्राप्त गर्नु पर्दछ र देशलाई अगाडि बढाउनु पर्दछ। तर, अहिले देश र पाल्र्यामेन्टलाई निकम्मा बनाएर अहिलेको जस्तो भत्ता खाने बाहेक के काम गरेको छ पाल्र्यामेन्टले? भत्ता खाने काम गरेको छ,’ उनले भने।
करिब ४ वर्ष अघि नेकपा माओवादी केन्द्रसँग चुनावी तालेमल र गठबन्धन गर्दै संसदमा झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्ने अवसर पाएका ओलीले आफ्नै पार्टीभित्रको व्यवस्थापन मिलाउन नसकेपछि ०७७ पुस र ०७८ जेठमा गरी दुई पटक प्रतिनिधि सभा विघटनको प्रयास गरेका थिए।
तर, नेपालको संविधानको प्रावधान अनुसार, सर्वोच्च अदालतले दुबै पटक ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै संसद व्युँताइदिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खोलिदिएपछि ओली आफ्नो विरुद्ध उभिएका गठबन्धनमा सहभागी दलसँगै अदालतसँग पनि रुष्ट बन्दै आएका छन्।
वर्तमान सरकार, सरकारका मन्त्री र संसदको हैसियत केही नभएको मात्र होइन, मन्त्रीलाई उन्मत्त चिम्पान्जीको संज्ञा पनि दिए।
उनले व्यंग्यात्मक शैलीमा भने, ‘मुद्दा लडेर फिर्ता ल्याएको संसद, मुद्दाबाट आएका र सर्वोच्च अदालतले टिका लगाइदिएर सरकार बनेकाहरुले के गर्छन्? केही गर्न सक्दैनन्।’
उनले थप्दै भने, ‘त्यसैले आज हामी भन्छौँ, जनतामा जानुपर्छ। प्रहरीले साथ दिनु पर्दैन एमालेलाई, निश्पक्ष भएर काम गरे हुन्छ। निर्वाचन आयोगले साथ दिनु पर्दैन एमालेलार्ई, एमाले एक्लै काफी छ।’
एमाले निकट कर्मचारीहरुमाझ आफ्नो नेतृत्को सरकार रहेको समयमा तत्कालिन विपक्षी दल नेपाली कांग्रेसले आफ्ना केही कर्मचारीको भेलामा उक्त पार्टीका नेताहरुले सरकारलाई असहयोग गर्न उक्साएर अलोकतान्त्रिक र निरंकुश चरित्र देखाएको कारण आफूले काम गर्न नसकेको दाबी समेत गरे।
साथै उनले आफ्नो पार्टी निकट कर्मचारीलाई कांग्रेसका नेताले भनेजस्तो गरी सरकारलाई असहयोग गर्न नमिल्ने बताए।
वर्तमान सरकारप्रति आक्रामक बन्दै आएका ओलीले अहिलेको सरकारलाई बालुवामा देखावटीका लागि गाढिएको मुला जस्तो भने।
‘मुलाको पनि अलिकति भने पनि जरा त हुन्छ, तर, अहिलेको सरकारको त जरा न फरा। पाँच जना (सर्वोच्चका न्यायाधीस)ले त नियुक्त गरेको जरा न फराको सरकार हो,’ उनले भने। जनताको अभिमतबाट यो सरकारलाई मुला उखेलेझै उखेल्ने घोषणा समेत गरे।
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय