नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै नारावाजी गरिरहेकै बेला उक्त पार्टीका नेता भीमबहादुर रावलले भने हालै संसदबाट अनुमोदित एमसीसी प्रस्तावको पछिल्लो अवस्थासँगै दार्चुलामा भारतीय पक्षबाट भएको अतिक्रमणबारे सरकारको जवाफ माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठक सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारबाही सुरु गर्नासाथ एमालेका सांसदहरु वेल घेराउ गर्दै नारावाजी सुरु गरे। त्यहीबीचमा एमालेका नेता रावलले पार्टी संसदीय दलको नीति र निर्णय विपरित उठेर समय माग्दै आफ्ना विचार राख्न सुरु गरे।
रावलले एमसीसीसँगको सम्झौताका केही राष्ट्रघाती प्रावधानहरुलाई यथावत राख्दै गरिएको अनुमोदनको विरोधमा आफ्ना असहमति राख्ने देशभक्तहरुमाथि राज्य संयन्त्रको प्रयोगमार्फत जनतालाई खिस्सिट्यूरी गर्ने काम बन्द गर्न माग गरे।
साथै उनले सदनबाट पारित एमसीसीको विषयमा पछिल्लो विषयमा के भइरहेको छ भन्नेबारे देश र जनतालाई जानकारी दिन सदनमा सरकारको जवाफ माग गरे।
त्यसैगरी उनले दार्चुलामा भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमाथि भएको अतिक्रमणबारे सरकारले केही बोल्न नसकेको भन्दै यसबारे तत्काल गृह र परराष्ट्र मन्त्रीले सदनमा जवाफ दिनु पर्ने माग गरे।
दार्चुलाको बंगाबगरमा ड्रोजर चलाएर महाकाली नदीको सीमा अतिक्रमणको घटनामा सरकारले केही बोल्न नसक्ने सरकारको कारण जनताले लज्जाबोध गरिरहेको भन्दै लिपुलेक, लिम्पियाधुराको विषयमा सरकार केही नबोल्ने जनविरोध, अलोकतान्त्रिक सरकार भएको बताए।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय