विभिन्न माग राख्दै प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक निरन्तर अवरोध गर्दैआएपछि सभामुख अग्निप्रसाद सापकोटाले विशेष रुलिङ गर्दै संसदको अवरोध अन्त्य गर्न आग्रह गरेका छन्।
विगत केही महिनादेखि एमालेले विरोध र अवरोध गर्दै आएकोमा समस्या समाधानका लागि भए, गरेका प्रयास विफल रहेपछि आइतबार सभामुख सापकोटाले विशेष रुलिङ गर्दै संसदमा हाल ४२ विधेयक विचाराधिन अवस्थामा रहेको भन्दै अवरोधका कारण नियम अनुसार पारित गर्न नसकिएको बताएका छन्।
साथै उनले जनताका दैनिक समस्याहरुबारे जनप्रतिनिधिहरले छलफल गर्ने, सरकारलाई सुनाउने र समाधानको निम्ति भूमिका निर्वाह गर्नु पर्नेमा अवरोधले हुन नसकेको भन्दै सरकार र संसदलाई प्रभावकारी बनाउनु सबैको दायित्व भएको बताए।
उनले भने, ‘प्रतिनिधि सभामा विचाराधिन रहेका ४२ विधेयकहरुलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेको छ। विचाराधिन विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य संचालनमा सहयोग गर्नु हामी सवैको दायीत्व हो। संसद अवरोधका कारण बिधि निर्माण प्रकृया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरुले मलाई पटक पटक ध्यानाकर्षण गराउनु भएको छ। संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अबरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई बिशेष अनुरोध गर्दछु,’ सापकोटाले भने।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय