प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रीत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
संसद भवन नयाँ बानेश्वरमा बिहिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको एजेण्डाका साथ निर्वाचन केन्द्रीत भएर गाँउ गाँउमा जान आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन्।
बैठकमा ओलीले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले ६५ देखि ७० प्रतिशत सिटमा जित हासिल गर्ने दाबी गरे।
सत्ता गठबन्धनमा रहेका प्रमुख राजनीतिक दलहरुबीच आगामी तीन तहको निर्वाचनसम्मै सम्भव भएसम्म चुनावी तालेमल गरी जानेबारे आन्तरिक गृहकार्य भइरहेको बेला ओलीले आफ्नो पार्टी चुनावमा एक्लै प्रतिस्पर्धा गरेर पनि सबै भन्दा शक्तिशाली हुने दाबी गर्दैआएका छन्।
एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने अध्यक्ष ओलीले बताएको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
जिल्ला र गाउँमा जाँदा आफ्ना सांसदहरुलाई नेता जस्तो नभई कार्यकर्ताजस्तो भएर जान र जनतासंग नङ मासुको सम्बन्धजस्तै बनाएर जनतामाझ पार्टीको जग बलियो बनाउन ओलीले निर्देशन दिएको पनि उनले बताए।
त्यस्तै संसदको अधिवेशनमा सत्तारुढ गठबन्धनले आफ्नो उदेश्यमात्र पुरा गरेको र जनताको समस्याका बारेमा छलफल गर्न गठबन्धन र सभामुखले कुनै प्रयास नगरेको निष्कर्ष निकालेको भट्टराईले जानकारी बताए।
उनले संसद अधिवेशन अन्त्य गरेर प्रधानन्यायधिशमाथिको महाभियोग पास गर्ने नियतले नल्याएको पुष्टि भएको एमालेको ठहर रहेको बताए।
बैठकमा अध्यक्ष ओलीले सरकारको गलत कामको भण्डाफोर गर्न पनि निर्देशन दिएका थिए। स्थानीय तहको निर्वाचनमा यसअघिको कामको मूल्यांकनका आधारमा राम्रो काम गरेकालाई प्राथमिकता दिने समेत बताए।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय