प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।
सोमबार काठमाडौंमा बसेको एमाले पोलिट्व्युरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकले उम्मेदवार छनौटका लागि ६ बुँदे मापदण्ड तयार गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकमा आएका सुझावका आधारमा स्थानीय तह निर्वाचनका उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सोहि दिन केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको गुरुङले बताए ।
एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ ।
त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ । नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्नेछ ।
उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले निर्णय गर्नेछ । विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ । त्यसैगरी लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने बताइएको छ ।
त्यस्तै पार्टीका सबै केन्द्रीय सदस्य आ–आफू मतदाता रहेको भूगोलमा केन्द्रित हुने निर्णय गर्दै बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको पनि गुरुङले जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने तय भएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय