हिमाल दैनिक
नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको विकल्प नभएको भन्दै यसका लागि एमाले पार्टी स्वयंले नेतृत्वदायी भूमिका निर्वाह गर्न जोड दिए। सोमबारदेखि सुरु भएको एमाले पोलिटव्यूरो बैठकमा बोल्दै मंगलबार नेता भुसालले एक वर्षअघि पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि तत्कालिन नेकपा डब्बलबाट विभाजित भएर बनेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमालेको वैचारिक र सैद्धान्तिक मतान्तर केही नरहेको भन्दै एमाले नेतृत्वले उनीहरुसँग एकताको प्रयास थाल्नु पर्ने धारणा राखेका थिए। तर, भुसालको विचारलाई विगत केही समयदेखि लत्याउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली मात्र होइन, उनका कट्टर समर्थकहरुले समेत ठाडै अस्विकार गरेपछि भुसालको विचार फेरि ओझेलमा परेको छ। मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेकाले पार्टीको बिभिन्न बैठकमा आफुले वाम एकताको कुरा बताए। उनले यसअघि नेकपामा रहेर तीन पार्टीमा बिभाजन भएको एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वैचारिक र सैद्धान्तिक समस्या नरहेको दाबी गरे। देशको प्रमुख पार्टी नेकपा विभाजनसँगै अहिले कम्युनिष्ट आन्दोलन अप्ठेरोमा रहेकाले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका भुसालले भने, ‘आगामी निर्वाचनमा तीन पार्टीले चुनावमा आफ्नो हैसियत अनुसारको नतिजा ल्याउने निश्चित रहेकाले तीन पार्टी एक भयो भने सबैभन्दा ठूलो दल बन्न सक्ने छ।’ तर, भुसालको विचारलाई अत्यन्त हल्का पारामा लिँदै अध्यक्ष ओलीले देशमा वाम शक्ति नै नभएको बेला के को वाम एकता भन्दै उडाउने कार्य मात्रै गरेनन्। पार्टीको झ्याल ढोका फोडेर भागेकाहरुसँग के को एकता भन्न समेत पछि नपरेको एक नेताले बताए। बैठकमा ओलीका समर्थकहरुले भुसालको विचारको प्रतिवाद गर्दै निर्वाचनको अगाडी वाम एकताको कुरा गरेर पार्टीलाई कमजोर अवस्थामा रहेको छ भन्ने सन्देश दिने कार्य गर्नै नहुने अडान राखेका थिए। यसरी आफ्नो विचारप्रति असहमति र विरोध जनाउँनेहरुप्रति लक्षित गर्दै भुसालले कम्युनिष्ट पार्टी एक हुँदा केहि व्यक्तिको हैसियत गुम्ने भएकाले यसको बिरोध गर्ने कार्य पार्टीभित्रबाटै भएको गुनासो गरे।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update