हिमाल दैनिक
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई दक्षिणपन्थी भएको दाबी गर्दै त्यसैकारण उनी पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाए। आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको अध्यक्ष नेपालको दाबी छ। अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले एमाले अध्यक्ष ओली कम्युनिष्ट नभएर दक्षिणपन्थी भएकोले चुनावमा दक्षिणपन्थी शक्ति राप्रपासँग चुनावी तालमेलको प्रयासमा रहेको आक्षेप पनि लगाए। आफूलाई सच्चा वामपन्थी, लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै आगामी चुनावमा नेपाली कांग्रेस लगायतका लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढने पनि उनले बताए। कुनै समयका सहयात्री र अनन्य मित्र रहेका ओलीको चर्को आलोचनामा समय खर्चिएका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाप्रति भने आभार व्यक्त गरे। चुनावी तालमेलको विषयमा आफूहरुले कांग्रेसको संस्थागत निर्णयको पर्खाईमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य वामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको जानकारी दिए। उनले भने, ‘शेरबहादुरजीले पटकपटक भन्नु भएको छ– यो गठबन्धन सँगसँगै हामी चुनावमा जानेछौं। अब पार्टीले नै के निर्णय गर्छ, हामी पर्खेर बसिरहेका छौं। हामी आफ्नो शक्तिको बलमा अगाडि बढन चाहन्छौं। चुनाव बैशाखको ३० गते नै हुन्छ। त्यसमा तपाईहरु अलमलमा पर्नुपर्ने आवश्यकता छैन।’ निर्धारित मितिमै चुनाव हुने दाबी गर्दै नेता नेपालले यसका लागि आफ्नो पार्टी आन्तरिक तयारीमा जोडतोडले लागिपरेको र सोही अनुसार शक्ति परिचालनका लागि कमिटीहरु बनाइरहेको जानकारी पनि दिए। पार्टीभित्र उपयुक्त उम्मेदवार छनौटको विषयमा छलफल हुने बताउँदै आफ्नो शक्ति र बुताले जित्न सक्ने स्थान कहाँ कहाँ छ भनि अध्ययन भइरहेको भन्दै उनले चुनावलाई सम्भावनाको खेलका रुपमा लिनु पर्ने बताए। चुनावमा कहिले एक मतले हार÷जीत हुने बताउँदै कैलालीबाट गठबन्धनको पक्षमा वकालत गर्दै पार्टीले उम्मेदवार बनाएमा कैलालीबाटै चुनाव लड्ने घोषणा गरेकी देउवा पत्नी आरजु राणाको नेता नेपालले प्रसंशा गर्दै धन्यवाद दिए। उनले भने, ‘हामीसँग मेल खाने, मिल्ने, विचार मिल्नेसँग हातेमालो गर्दै जान्छौं। मोहनविक्रम सिंहको पार्टीले पनि हामीसँग मिलेर जाने प्रस्ताव राख्नु भएको छ। जनता समाजवादी पार्टीले पनि मिलेर जाने प्रस्ताव राख्नु भएको छ। माओवादी केन्द्रको पनि त्यस्तै प्रस्ताव छ। काँग्रेस भित्रको एउटा हिँस्साले पनि मिलेर जानुपर्छ भनेर प्रस्ताव राख्नु भएको छ। तर, यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागि परेका छन,’ नेपालले भने। यसरी सत्तारुढ घटकबीच चुनावी तालमेलको गृहकार्य भइरहेको भन्दै नेता नेपालले उता ओलीले पनि चुनावी तालमेल र गठबन्धनको तयारी गरिरहेको दाबी गरे। उनले भने, ‘ओलीले कोसँग गठबन्धन गर्दैछन, थाहा छ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्। राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन। विदेशीहरुसँग दलाली गर्ने पार्टीहरुसँग तालमेल गर्न खोजिरहेका छन। किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन्। दक्षिणपन्थी शक्तिहरु उनीहरुसँग मिल्छन्।’ आफूहरु वामपन्थी, लोकतान्त्रिक शक्ति भएको दोहोर्याउँदै नेता नेपालले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिहरुसँग मिलेर अघि बढ्ने बताए। साथै उनले आफ्नो पार्टीका नेता, कार्यकर्तालाई पहिले आफ्नो शक्तिमाथि भरोसा गरेर संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम राखेर अगाडि बढ्न निर्देशन दिए। ‘हैसियत नभएकालाई कसैले पत्याउदैनन्। आफनै शक्ति र संगठन नभएकालाई कसैले पत्याउँदैनन्,’ उनले भने। नेपालले एमालेबाट ६ महिनाअघि विभाजित भएर नयाँ पार्टी गठन गरेपछिको छोटो अवधिमा पनि आफ्नो पार्टी नेपालको इतिहासमै नभएको आकार ग्हण गरेकोले आफू जहाँ गयो, त्यहीँ एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको दाबी पनि गरे। नेपालले भने, ‘हिमाल होस्, पहाडहोस्, तराईँ। पूर्वहोस् वा पश्चिम। सबैतिर हाम्रो पार्टी फैलिँदै गइरहेको छ। हाम्रो पार्टीको विस्तार देखेर हाम्रा वैरीहरु आत्तिएका छन्। आत्तिएर उनीहरुले आफ्नो मानसिक सन्तुलन गुमाउन थालेका छन्।’ ओलीप्रति कटाक्ष गर्दै उनले भने, ‘जब मान्छेको मानसिक सन्तुलन गुम्छ, अनि ऊ बर्बराउन थाल्छ। अनि बर्बराउने बेलामा के बोले, के बोलिन उसलाई होस् नै हुँदैन। बेहोसी अवस्थामा हुन्छ। यसबाट हामीले आत्तिनुपर्ने केही पनि अवस्था छैन। विरोधीहरुले अनेकखाले भ्रमहरु पैदा गरेका हुन्छन। तपाईहरुले पनि ती भ्रमहरु, पैmल्याइएको कुप्रचारहरुको बारेमा जानकारी राखिरहनु भएको होला। हेक्का राख्नु भएको होला।’ केही दिनअघि सरकारका दुई मन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ मध्यरातमा ओली निवास बालकोट पुगेर पुनः एमालेमै फर्किँदै भन्ने समाचार प्रकाशित भएको उल्लेख गर्दै यस्ता कुप्रचारबाट सचेत रहन उनले आग्रह गरे। छ महिनाको छोटो अवधिमा आफ्नो पार्टीले ग्रहण गरेको आकारबाट दंग देखिएका नेपालले आफ्नो पार्टीको संरचना ७७ जिल्लाका ७ सय ५३ वटा पालिकाहरु मध्ये अधिकांश पालिकाहरुमा पार्टी कमिटी निर्माण गर्दै ६ हजार ७ सय ४३ वटा वडामा पनि विस्तार भएको दाबी गरे।  
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update