हिमाल दैनिक
निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक छः सञ्चारमन्त्री कार्की
gyanendra bahadur karki leader nepali congress
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि गरिएको दाबी गरेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबार बोल्दै केन्द्रीय सदस्य समेत रहेका कार्कीले गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु रहेको बताए। कार्कीले अब तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्रलाई अझ सुदृढ र समृद्धिको यात्रालाई अझ सहज बनाउनुपर्ने महत्त्वपूर्ण कार्यभार कांग्रेसकै काँधमा आएको बताए। त्यो कार्यभार सम्पन्न गर्नका लागि गठबन्धनबीचको सहकार्य र सहयात्रा आवश्यक रहेको बताउँदै त्यसका लागि काँग्रेसको अगुवाइ तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अभिभावकीय नेतृत्वबाट मात्रै सम्भव हुने दाबी उनले गरे। मन्त्री कार्कीले अत्यन्त विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यका लागि यो गठबन्धन स्थापना भएको बताउँदै यसको अभिप्राय सत्ता प्राप्ति मात्रै नरहेको उल्लेख गरे। उनले भने, ‘मुलुकको राजनीतिलाई नियमित लिकमा फर्काउने, आवधिक निर्वाचनलाई सुनिश्चित गरेर मुलुकलाई राजनीतिक स्थिरतातर्फ उन्मुख गराउने र देशलाई समृद्धिको बाटोमा हिँडाउनु नै गठबन्धनको खास उद्देश्य थियो। अहिले पनि हाम्रो यात्रा त्यही उद्देश्यबाट निर्देशित छ।’ उनले गठबन्धनको माध्यमबाट मुलुकले भोगिरहेको जटिल र गहिरो सङ्क्रमणको अन्त्य भएको दाबी गर्दै सम्भावित अस्थिरताको डरलाग्दो श्रृङ्खलाको भय पनि समाप्त भएको बताए। उनले भने, ‘मुलुक लिकमा फर्कियो। यतिबेला स्थिर सरकारको प्रभावकारितासँगै आमजनताले पनि सहजताको महसुस गर्न थालेका छन्।’ अहिले काँग्रेसले पाएको जिम्मेवारी सामान्य नरहेको बताउँदै मन्त्री कार्कीले यो सिङ्गो मुलुकले सुम्पेको निकै विशिष्ट प्रकारको जिम्मेवारी रहेको बताए। उनले भने, ‘काँग्रेसको अगुवाइ र सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वलाई पाँच दलले मात्र होइन, सिङ्गो मुलुकले पनि स्वीकारेको छ। र, विश्वास गरेको छ। यो ऐतिहासिक अवसर पनि हो।’ उनले यो विशिष्ट जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेर काँग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउने र मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक उन्नतितिर डो¥याउने लक्ष्यका साथ अझै एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए। जस्तोसुकै कठिन र असहज परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेर मुलुकलाई सही दिशा प्रदान गर्न सक्ने प्रधानमन्त्री देउवाको उच्चस्तरको राजनीतिक सुझबुझ, परिपक्व एवम् दुरदर्शी नेतृत्व र अभिभावकीय भूमिकालाई यतिबेला सिंगो मुलुकले सराहना गरेको उनको भनाई थियो। साथै यो सिङ्गो काँग्रेसका लागि महत्त्वपूर्ण पुँजी भएको उनले उल्लेख गरे। सरकारले कारोना संक्रमणको रोकथामसँगै सुशासन स्थापना र समृद्धिको दिशामा थुप्रै महत्त्वपूर्ण काम गरेको बताउँदै मन्त्री कार्कीले राज्य संयन्त्र र संवैधानिक निकाय भूमिकासमेत राजनीतिक छायाले थिचिएको, राज्य पद्दति खलबलिएको र राज्य संयन्त्र पनि प्रभावहीन बन्दै गएको असहज अवस्थाको अन्त्य भएको धारणा राखे। उनले भने, ‘स्थिर सरकारको गठनसँगै राज्य संयन्त्रले पनि प्रभावकारी रुपमा काम गर्न थालेको छ। र, संवैधानिक निकायहरूले पनि आफ्नो स्वतन्त्र भूमिका निर्वाह गर्न पाएका छन्।’ यसबीचमा गठबन्धनलाई फुटाउने, भत्काउने र अलमल्याउने अनेक प्रयास र प्रहार भएको उल्लेख गर्दै मन्त्री कार्कीले अनेक प्रश्न, आशंका र अनुमान पनि उब्जिएको पनि बताए। उनले भने, ‘पाँच दल सँगै हिँड्ने क्रममा कहिलेकाही अप्ठ्यारा आउनु र मतभिन्नता हुनु स्वाभाविक हो। तर, हामीबीचको हार्दिक संवाद र विश्वासले गर्दा गठबन्धनको जग कहिल्यै धरमराएन।’ सत्ता साझेदार दलको साझा उद्देश्य रहेको बताउँदै आपसी सहमति र विश्वासका साथ अघि बढिरहेको बताउँदै उनले यो सहयात्राको निरन्तरता आगामी निर्वाचन र त्यसपछिका राष्ट्रिय मुद्दामा पनि आवश्यक हुनसक्ने विचार व्यक्त गरेका हुन्।
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update