हिमाल दैनिक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सत्तासाझेदार दलहरुसँग गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको स्पष्टोक्ति दिएका छन्। बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो अभिव्यक्ति दिएका हुन्। शुक्रबारदेखि मंगलबारसम्म चलेको कांग्रेस केन्द्रीय समितिको बैठकमा गठबन्धनको विषयमा नेताहरुको अभिव्यक्ति फरक फरक आएपनि अन्त्यमा औचित्य र आवश्यकताको आधारमा स्थानीय तहमा सम्बन्धीत तहले नै गठबन्धनको निर्णय गर्ने अधिकार दिने निर्णय गराएका देउवाले आज आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको दाबी गरे। प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने बताउँदै गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकतावद्ध बनाएर अघि बढ्ने घोषणा गरे। प्रधानमन्त्री देउवाले भने, ‘अहिले गठबन्धनको कुरा उठेको छ। हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ। यसमा कुनै दुइमत छैन। हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन। वास्तवमा भन्ने हो भने सबै अरु पार्टीका नेताहरुले सहयोग गर्नुभएको छ। उहाँहरुले गर्नुभएको सहयोगलाई अझ बढी हामी एकतावद्ध रुपमा अघि बढाउने छौँ।’ कांग्रेसले केन्द्रीय समितिबाट औपचारिक निर्णय नगर्दासम्म पार्टीभित्रै अल्पमतमा रहेका अधिकांश नेतादेखि कार्यकर्तासम्मले गठबन्धन र चुनावी तालमेलको विपक्षमा अभिव्यक्ति दिइरहेपछि सशंकित बनेका गठबन्धनका नेताहरुलाई पार्टीको औपचारिक निर्णय पश्चात देउवाले गठबन्धनको राजनीतिलाई निरन्तरता दिने विश्वास दिलाए। उनले थप्दै भने, ‘सबै अफ्ठ्यारोलाई फुकाउने र मिलाउने काम राजनीतिक दलहरुको हो, भाग्ने काम होइन नि। हामी अफ्ठ्यारोलाई समाधान गरेर अघि बढ्छौँ।’ प्रधानमन्त्री देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्ध रहेको बताए। सुचना प्रविधिको क्षेत्रमा भएको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेकोप्रति प्रधानमन्त्रीले चासो र चिन्तासँगै दुःख व्यक्त गर्दै मिथ्या र भ्रामक समाचारले सबै ठाउँमा शंका उत्पन्न गराउने बताए। प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचार निराकरण गर्न सरकार, राजनीतिक दल, सञ्चारकर्मीहरुको पहल हुनु आवश्यक रहेको पनि बताए।  
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update