हिमाल दैनिक
दिल्लीबाट काठमाडौं हिँडे प्रम देउवा
PM Deuba
भारतको तीन दिने भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली टोली राजधानी फर्कँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले भारतमा भारतीय सरकार तथा सत्तारुढ पार्टीका शीर्ष नेताहरुसँग भेटवार्तासँगै तिर्थाटन गरेर आइतबार साँझ पौने ६ बजे नेपाल वायुसेवा निगमको कल साइन २१८ विमानबाट काठमाडौं आउन भर्खरै नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्रािष्ट्रिय विमानस्थलबाट उडेका छन्। अपरान्ह ४ बजे भारतबाट नेपाल आउने भनिएपनि करिब २ घण्टा ढिलोगरी विमान उडेपछि देउवाको आगमन साँझ हुने भएको छ। नेपालको राजनीतिक इतिहासमा अधिकांश नेताहरु प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्दै आएपनि देउवाले यसपटक उक्त प्रचलनलाई तोड्दै भारत जानु अघि युरोप र अमेरिकाको भ्रमण गरेका थिए। नेपालसँग भौगोलिक, आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पनि अत्यन्त नजिकको मित्रराष्ट्रका रुपमा परिचित भारतसँग पछिल्लो समय सीमा विवादको विषयले कुटनीतिक क्षेत्रमा केही चिसोपन बढ्दै गएको थियो। विशेषगरी नेपालले नयाँ संविधान जारी गर्दा तराई मधेश केन्द्रीत राजनीतिक दलको पक्षमा देखिएको भारतले उक्त संविधानलाई सामान्य जानकारीमा मात्रै लिएको थियोे भने अझै पछिल्लो समय नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा पारेपछि दुई देशका सरकारबीच मतभेद बढ्दै गएको थियो। यसरी बढ्दै गएको मतभेदकाबीच प्रधानमन्त्री देउवाले भारतको भ्रमणमा गएर भारतीय समकक्षी मोदीसामू सीमा विवादको विषय उठाएर विवाद समाधानको लागि अग्रसरता देखाएका थिए। तर, शनिबारको संयुक्त पत्रकार सम्मेलनमा भने मोदीले देउवाको चासोलाई वास्ता नगरी बसे। यसका अतिरिक्त दुई देशका सरकारी टोलीबीच विद्युत खरिद, विक्री लगायतका विभिन्न विषयमा सहमति भएको बताइएको छ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update