हिमाल दैनिक
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेका नेता माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन्। एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले राजधानीमा आयोजना गरेको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले आफ्ना पूर्ववर्ती सहयात्री नेपाललाई यस्तो चुनौती दिएका हुन्। तत्कालिन नेकपा डब्बलको अध्यक्ष एवं झण्डै दुई तिहाई बहुमतको सत्ता संचालनमा आन्तरिक विवादका कारण असफल बनेका ओलीले पटक पटक संसद विघटनको असफल प्रयास गरेपछि त्यसको विरुद्धमा उत्रिएका नेपालले गत भदौ अन्तिममा नयाँ पार्टी गठन गरेर नयाँ सत्ता गठबन्धनमा सहभागी भएका थिए। सरकारमा सहभागी पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहदेखि प्रदेश र संघसम्मकै निर्वाचनमा चुनावी तालमेल र गठबन्धन गर्ने तयारी गरिरहेकै बेला विपक्षमा रहेका ओलीले नेपालसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति पनि आक्रोस व्यक्त गरेका छन्। यसअघि २०७४ को आम निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी तालमेल गर्ने क्रममा दाहाललाई ५४ सिट र आफ्नै पार्टीको अलग समूहका नेता नेपाललाई २३ सिट दिएको खुलासा गर्दै ओलीले उनीहरु दुबैले त्यसको दुरुपयोग गरेर पार्टी फुटाएको आरोप लगाए। ओलीले नेपाललाई एमालेकै शक्तिशाली नेता हुँदा पनि २३ सिटको हिस्सा पाउने हुती नभएको व्यक्तिको संज्ञा दिँदै आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौती दिए। जनादेशको दूरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीहरुलाई अध्यक्ष ओलीले निर्देशन दिए। ओलीले भने, ‘५४ सिट दिइयो प्रचण्डलाई तर, भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे। ४ वटा सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन। माधव नेपाल २२÷२३ सिट ल्याउने हुत्ति भएको मानिस हो उनको नेतृत्वमा? अव ३ सिट ल्याएर देखाउन त? त्यो हुत्ति भएका मान्छे हुन्? तर पार्टीभित्रको कुरा दिइयो साथीहरुलाई। यो हिजोको चुनावको परिणाम हो। अब आजको चुनावको परिणाम होइन। म साथीहरुलाई भन्न चाहन्छु, –अव बैशाख ३० को चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन्। अघि खगराजजीले पनि भनिसक्नु भयो। त्यो बेग्लै बनाउन तपाई हामी लाग्नु पर्दछ नागरिकको हैसियतले।’ अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताए। उनले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरु सक्रिय रहेको आक्षेप पनि लगाए। विशेषगरी आफू निकट झापाका व्यवसायी दुर्गा प्रसाईको बि एण्ड सी कलेजलाई सम्बन्धन दिन मरिहत्ते गर्दै आएका ओलीले त्यसको विरुद्धमा उत्रिँदै आएका वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै उहाँले म नखाऊ भनेपछि सरकार थरर काम्ने गरेको बताउ। विद्यार्थी बाहिर पढाउने र कमिशन खान पल्केकाहरुले नै नेपालजस्तो स्वास्थ्यको हव बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो। उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई प्रदुषित गर्ने तत्वहरु सक्रिय छन्। एकदमै सक्रिय छन्। नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने, यहाँ त स्वास्थ्यको, स्वास्थ्य शिक्षाको त हव हुनुपर्छ नेपाल। विश्वको शिक्षा केन्द्र हुनुपर्दछ यो। विश्वको हेल्थ युनिभर्सिटी हुनु पर्दछ नेपाल। विश्व हेल्थका निम्ति मोडल हस्पिटलहरु हुनुपर्दछ यहाँ। नामको मोडेल भनेको होईन मैले। कामको मोडल हुनुप¥यो। यहाँ त एउटा म नखाउ त नखाउ भनेपछि सरकार थरर। अनि एकथरी विद्याथी बाहिर पठाउने मतियार छन् र त्यसबाट कमिशन खान्छन्। तिनीहरुले फेसबुक क्याम्पियन चलाउछन्। यहाँ खोल्न नपाउने इन्जियनियरिङ र मेडिकल छन् के। जे सुकै खोल्नुस तर, यहाँ हेल्थ एजुकेशन चलाउन पाईदैन। धेर भईसक्यो यहाँ। यहाँ विद्यार्थी बाहिर पठाउने कारोबारमा नोक्सान पर्न थालिसक्यो। इन्जिनियरिङ कलेज खोल्नका लागि पूर्वाधार तयार छ। भवन तयार छ। टिचर तयार छन्। तर स्विकृति दिइदैन। यहाँ खोल्न मिल्दैन। राष्ट्रिय हितलाई केन्द्रमा राखेर बोल्नुपर्छ हामीले।’ त्यस अवसरमा अध्यक्ष ओलीले परीक्षण ल्यावसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको पनि दाबी गरे। जब कि उनको सरकारकै पालामा कोभिड परिक्षणका लागि आवश्यक उपकरणदेखि स्वास्थ्य सामाग्री खरिद प्रकरणमा ठूलो आर्थिक अनियमितता भएको विषयमा परेको उजुरी अहिलेपनि संसदीय समितिमा विचाराधिन छ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update