हिमाल दैनिक
बारको अध्यक्षमा घिमिरे विजयी
Gopalkrishna ghimire
नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूह विजयी भएको छ । अध्यक्षमा घिमिरे चार हजार ४७४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले दुई हजार ९८९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा सुरज खत्री, सुधीर कर्ण, हर्क रावल, वीरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी हुनुभएको छ । महासचिवमा अञ्जिता खनाल तीनहजार ६८२ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी केदार कोइरालाले दुई हजार ३४५ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा भरत रावत विजयी हुनुभएको छ । सदस्यहरुमा विनिता नेपाली, किरणकुमारी साह, नरेशकुमार साह, नारायण दास राई, रुपबहादुर सारु, सीता पौडेल, मनिका खड्का र शर्मिला थापा विजयी हुनुभएको छ । खुला सदस्यहरुमा भरतकुमार लकाई, देवीप्रसाद कोइराला, निर्भयराज पौडेल, सन्तोषकुमार राउत, गुणराज आचार्य र सन्तोष तिवारी विजयी हुनुभएको छ । बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको भए पनि मतगणना भने मङ्गलबार बिहानदेखि मात्र सुरु भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सात हजार ४२९ मत खसेको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update