प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन्।
मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन्।
उनले काठमाडौंका खाली ठाउँहरु भूमाफियाहरुले आफ्नो नाममा लिने काम गरिरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए।
यसरी राजधानीकै वरपर रहेको खाली जमिन भूमाफियाहरुले लिएको जानकारी भएर पनि सरकारको नेतृत्व सम्हालीरहेका प्रधानमन्त्री देउवाले त्यसलाई रोक्न आफ्नो तर्फबाट कुन किसिमको पहलकदमी चाले र त्यसको परिणाम के आयो भन्नेबारे भने कुनै कुरा उल्लेख गरेनन्।
देउवाले भूमाफियाहरुको अतिक्रमण कार्यलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने बताए। ‘भूमाफियाहरुले जथाभावि ठाउँठाउँमा जग्गा हडप्दै गएका छन्। जसले पनि आफ्नो नाममा गरेका छन्। यसमा पनि ध्यान दिनुपर्नेछ। नत्र भोलि काठमाडौंका कुनै ठाउँ बाँकी हुने छैन,’ उनले भने।
उपत्यकाको बढ्दो जनघनत्व र फितलो व्यवस्थापनबाट बढ्दो वातावरणीय असरप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले काठमडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने धारणा राखे।
फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो स्थितिमा रहेको बताउँदै उनले भने, ‘अहिले काठमाडौंमा जुन किसिमाको फोहोर नै फोहोर छ। व्यवस्थापन भएको छैन। फोहोर थुप्रिएको छ। फोहोर व्यवस्थापन गर्न जरुरी छ। यसबाट ग्यास निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ। मैले आफैँले देखेर आएको छु धरानमा। फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ। विदेशी राजदुतहरुले पनि हामी त्यसको लागि काम गर्न तयार छौँ भनेका छन्।’
आसन्न स्थानीय तह निर्वाचनको प्रसंगमा प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहीतालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धता समेत जनाए।
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय