हिमाल दैनिक
निर्वाचन कानूनसँग बाझिने बुँदामा पनि एमाले र राप्रपा नेपालको सहमति!
UMl RPP n
नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ। सत्तासाझेदार पाँच दलले एमालेलाई देशभरीबाटै बढार्ने योजनाका साथ चुनावी गठबन्धन र तालमेलको गृहकार्य गरिरहेकै बेला एमाले र राप्रपा नेपालले एक कदम अघि बढ्दै विद्यमान कानूनको व्यवस्थालाई समेत मिचेर सहमति गरेका छन्। बुधबार राजधानीमा भएको दुई दलबीचको सहमति पत्रको बुँदा नम्बर ५ मा राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमतिमा एमाले र राप्रपा नेपालले स्थानीय तह निर्वाचन ऐनको प्रावधानलाई नै मिच्ने गरी व्यवस्था गरेका छन्। उक्त बुँदाको दोस्रो हरफमा यसरी सूर्य चिन्ह लिएर निर्वाचित भएपश्चात पनि राप्रपा नेपालका प्रतिनिधिहरु राप्रपामै आवद्ध रहने भनि गरिएको सहमति देशको मूल कानून विपरित रहेको छ। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को निर्वाचन चिन्ह सम्बन्धी व्यवस्थाको उपदफा ४ अनुसार, उम्मदेवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन भन्ने उल्लेख छ। यसैगरी उक्त दफामा भनिएको छः त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजूरी दिएमा निजको सदस्यता खारेज हुनेछ। विद्यमान संविधानको व्यवस्था अनुसार, कुनै पनि संघसंस्था वा दलको कानून वा लिखत देशको मूल कानूनसँग बाझिएको हकमा स्वतः खारेज हुने उल्लेख छ। तरपनि एमाले र राप्रपा नेपालले निर्वाचन कानूनको प्रावधान विपरित सूर्य चिन्ह लिएर निर्वाचित भएपछि पनि राप्रपा नेपालकै सदस्यका रुपमा रहने सहमति गरेर कानूनको उपहास गर्ने कोशिश गरेका छन्। पूर्व राजावादी नेताका रुपमा परिचित थापा केही समयअघि सम्पन्न राप्रपाको अधिवेशनमा युवा नेता राजेन्द्र लिङदेनसँग अनपेक्षित रुपमा पराजित भएपछि पुनः पुरानै राप्रपा नेपाल गठन गर्दैै राजतन्त्रको विपक्षमा उभिन थालेका हुन्।
प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update