हिमाल दैनिक
नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने प्रबल सम्भावनालाई ध्यानमा राख्दै उक्त क्षेत्रका बासिन्दालाई उच्च शतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन्। भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स)द्वारा जारी पूर्व चेतावनी अनुसार, नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने सम्भावना रहेको बताइएको छ। सामान्यतयः ४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ। यसअघि नै मौसमवदहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए। यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीसँग गरेको कुराकानीका क्रममा उनले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने पूर्वाअनुमानबारे जानकराी दि। उप्रेतीका अनुसार ४० डिग्री वा सो भन्दामाथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ। नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको उनले बताए। जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने पर्ने प्रचुर सम्भावना रहेको बताए। नेपालमा शनिवारसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ। बढ्दो मौसमी परिवर्तन र तापक्रमलाई ध्यान दिँदै उप्रेतीले नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताए। उनले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताउँदै वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको स्मरण गराए। उप्रेतीले भने, ‘खास गरेर यो वर्षमा तापक्रम चैतको शुरुदेखि नै वा फागुनको अन्तिम सातादेखि चैतको प्रारम्भ हुँदादेखि नै तापक्रम बढेको अवस्था छ। अहिले ग्लोवल्ली पनि मार्च महिनालाई १२२ वर्ष यताकै सबैभन्दा गर्मी महिना भनेर रेकर्ड भएको छ। त्यो कुरालाई वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशन मौसमसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले पुष्टि गरेको र भारतको मेट्रोलोजिकल डिपार्टमेण्ट (मौसम विभाग) ले पनि १२२ वर्ष यताको वार्मेस्ट मन्थ (गर्मी महिना) मार्च भनेर डेटामा पनि आएको छ। अहिलेसम्म भारतको औषत तापक्रम मेक्सिमम (धेरै) मा मार्च महिनाको लागि ३०.८७ डिग्री सेल्सियस जुन रेकर्ड भएको छ, त्यो २०१० भन्दा यताको सेकेण्ड (दोस्रो) धेरै वार्मेष्ट (तापक्रम) हो। यो रेकर्ड अहिलेसम्मको तापक्रम रेकर्ड गरेको भारतको जल तथा मौसम विभागले रेकर्ड गरेको सिस्टमको हाइएस्ट (उच्च) हो।’ उप्रेतीका अनुसार, वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनले नेपालको पश्चिमी भाग लगायतमा कुन ठाउँमा धेरै तापक्रम वृद्धि भयो भन्ने रेकर्ड पनि राख्दछ। नेपालको पश्चिम भाग, भारतको उत्तराखण्ड, गुजरात यो पश्चिमी क्षेत्रमा तापक्रम अत्याधिक वृद्धि भएको छ। जसअनुसार, यो वर्षको मार्चमा नै हिट वेब चल्न सुरु भएको थियो। मार्चकै महिनामा अन्तिम र अप्रिलको पहिलो साता पुग्दासम्म ४५ डिग्री तापक्रम भारतमा पुगेको बताउँदै उनले, अहिले पनि लगचग त्यही स्तरमा तापक्रम रहेको बताए। बीचमा केही कमी आउनुका साथै पश्चिमी वायु सक्रिय हुँदा केही हल्का वर्षा पनि भएको थियो। नेपालमा बंगालको खाडी र पश्चिमी वायु गरी दुई सिजनमा वायु चल्ने गर्दछ। हिउँदको समयमा अफगानिस्तान÷पाकिस्तान हुँदै आउने पश्चिमी वायुले कहिले उत्तरको चीन र तिब्बतमा बढी पानी पार्ने गर्दछ त कहिले तलबाट आउँदा नेपाल, भारत, पाकिस्तानदेखि अफगानिस्तानसम्मै असर गर्दछ। ‘यसपालि दुईवटै वायुको सम्मिश्रण भयो र बीचमा टेम्प्रेचर डाउन भयो। तर, अझै सचेत हुनुपर्ने विषय के हो भने वैशाखको ५ गतेदेखि फेरि लगातार ३ दिन पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुँदैछ। त्यो तापक्रम ४० डिग्रिको हाराहारीमा तराईको धेरै ठाउँमा ४० डिग्री वा सो भन्दा माथि पुग्ने अवस्था छ। त्यो अवस्थामा अब हिट वेब शुरु हुँदैछ भन्दा फरक नपर्ला,’ उनले थप्दै भने, ‘हाम्रो तराईमा हिट वेब शुरु हुँदैछ। भारतले हिट वेबको सूचना पनि जारी गर्दै चेतावनी दिइसकेको छ। हिजोसम्मको जल तथा मौसम विज्ञान विभाग, नेपालको रेकर्ड हेर्दा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड छ। ३५ देखि ४० डिग्री सेल्सियस भएको स्टेशनको संख्या २७ पुगेको छ। नेपालमा पहिला नै हिट वेबको सम्भावना देखिएको अवस्था छ।’ तराईका जिल्लामा खास गरी लुम्बिनी प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भोलिदेखि नै वैशाखको ५ गतेदेखि ७ गतेसम्म तापक्रममा बृद्धी हुने र लुको सम्भावना देखिएको उनले बताए। उप्रेतीले अहिले औषत पृथ्वीको तापक्रम १.१ डिग्री रहेको र भारतले जारी गरेको १२२ वर्षको आँकडामा १.८६ डिग्री सेल्सियसले तापक्रम औषतमा बढेको देखिएको बताए। उनले यो असर जलवायु परिवर्तनको कारण भएको बताउँदै अहिले अुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सिमित गरेर जान सुझाव समेत दिए। दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्याधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्ने बताउँदै उलने अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक रहेको बताए। लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उनको सुझाव छ। त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उहाँले नेपालमा तापक्रमको सीमा तोकेर सोही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिए। यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलीलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगाहरु लगाउन पनि उनले सुझाव दिए।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update