नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन भत्काउने षडयन्त्र भइरहेको बताउँदै त्यो षडयन्त्रलाई कुनै हालतमा विफल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस निकट विद्यार्थीहरुको संस्था नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताउँदै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताए।
उनले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गरे।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै पाँच दलीय गठबन्धनको सहायतामा आफ्नो नेतृत्वमा सत्ताको बागडोर लिएका देउवाले आसन्न स्थानीय निर्वाचनमा पनि गठबन्धन कायम गरी अघि बढ्ने गृहकार्यमा व्यस्त भइरहे पनि यसको विषयमा पार्टी भित्र र बाहिरबाट चर्को विरोध हुँदै आएको छ।
देउवाले ठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको उल्लेख गर्दै कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफुले राम्रो काम गरेको दाबी गरे।
प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोहीसँग मिल्नै पर्ने बाध्यता रहेको बताए।
लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनको धारणा थियो।
उनले भने, ‘अहिले वास्तवमा भन्ने हो भने यो गठबन्धनले धेरै ठाउँ हाम्रा मुख्यमन्त्रीहरु छन्। हाम्रो सबै गठबन्धनको मुख्यमन्त्री छ। धेरै ठाउँहरुमा हामीले भाग पाएका छौँ। यसरी के बिगारे मैले? कांग्रेस पार्टीलाई सरकारमा ल्याउने नै मेरो गल्ती हो भने मलाई गल्ती गरे भने हुन्छ। त्यसकारण प्रधानमन्त्री भएर के बिगारे मैले? राम्रै गरेको छु त मैले। यस्तो अवस्थामा अहिले जो हाम्रो गठबन्धन छ, यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ अहिले बेस्सरी। गठबन्धन टुटेपछि फेरी त्यही हालत हुने हो। अस्ति जस्तो हालत भयो नि। ओलीको एमाले मिलेपछि के हालत थियो हाम्रो पार्टीको? देशभरी कसरी हाम्रो साथी रोएका थिए? हटाउनुप¥यो, हटाउनुप¥यो भनेको होइन? त्यसकारण भोलि पनि त्यही अवस्था नआओस्। हामी सबैले के ध्यान दिनुप¥यो भने अहिलेको नयाँ संविधान बनेको छ यो संविधान अनुसार कुनैपनि एक्लै पार्टीको सरकार बहुमत आउने सम्भावना छैन हेर्नुस्।’
उनले निर्वाचनमा कसै न कसैसँग त मिल्नै पर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै विगतमा ओलीलाई हटाउन सबैले आवाज उठाएको बताए।
‘ओलीलाई हटाउनुप¥यो सबैले भने। ठिक छ हटायौँ। त्यसकारण अब यो गठबन्धनलाई अगाडी लिएर जानु छ। गठबन्धन भनेपछि गिभ एण्ड टेक हुन्छ नि। तपाईलाई सबैकुरा दिनलाई त गठबन्धन बनेको होइन नि। उसले पनि केही पाउनका लागि गठबन्धन बनेको हो। ठिक छ, कांग्रेस पार्टी ठुलो पार्टी छ, ठुलै पार्टी होस्। सानो पार्टी हामी पनि हुन पाँउ भनेका छन् उनीहरुले। उनिहरुको अधिकार हो नि। त्यतिपनि नपाएर हुन्छ त्यो। एउटा षड्यन्त्र हुँदैछ गठबन्धन तोड्ने कुनै हालतमा तोड्नु हुँदैन भन्ने मेरो धारणा छ । यसमा सबै साथीहरुले ठाउँ–ठाउँमा भन्नुपर्छ,’ गठबन्धनको बचाउमा देउवाले भने।
उनले नेपाल विद्यार्थी संघले कुनैपनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताए। नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिन आग्रह गर्दै देउवाले भने, ‘०२७ सालमा जन्मिएको नेपाल विद्यार्थी संघ आज देशभरी नै सबै ठाउँमा क्याम्पस युनियनहरुमा, कलेजहरुमा, युनिर्भसिटी युनियनहरुमा हामी हारिरहेका छौँ। किन हार्दैछौँ? यो कुरा ध्यान दिनुपर्ने भएको छ। स्कुल त गाउँमा छ नि। जबसम्म स्कुलभित्र नेविसंघ गठन हुँदैन तबसम्म भोलि आउने तिनै हुन्। अहिले एमाले, माओवादी यिनीहरु सबैले स्कुलमै बनाएका छन् कमिटी। स्कुल कमिटीबाट आउनेहरु धमाधम माथि आउने तिनै युवा हुन्। तिनै विद्यार्थी हुन्। हाम्रो त कहिँ पनि छैन। के भएको यो?’
देउवाले नेपाल अझै पनि गाउँको देश भएको बताउँदै विद्यार्थी संघले सदरमुकाम केन्द्रीत नभएर गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिए।
प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने सुझाव दिए।
नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडी बढ्न पनि विद्यार्थीहरुलाई उनले सुझाव दिए।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय