हिमाल दैनिक
पोखरा महानगरको नेतृत्व पाउने भरोसा नपाएपनि आशा अझै मारेका छैनौँः कास्की कांग्रेसका नेताहरु
Kaski congress
गठबनधन कायम गर्ने नाउँमा नेतृत्वले पोखरा महानगरपालिकाको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने अन्तिम तयारी गरेपछि हान्निएर काठमाडौं आएको कास्की कांग्रेसका नेताहरुले पार्टी नेतृत्वलाई कुनै पनि हालतमा पोखरा महानगरको नेतृत्व छाड्न नसकिने अडान राखेका छन्। पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच आसन्न स्थानीय तह निर्वाचनमा महानगर, उपमहानगर र नगरपालिकाहरुमा आपसी भागवण्डा गर्ने गृहकार्य अन्तर्गत माधवकुमार नेपालले पोखरा महानगरको नेतृत्व दाबी गरेपछि त्यसको विपक्षमा उभिएको कास्की कांग्रेसका नेताहरु मंगलबार राजधानी आएका थिए। जिल्लाका पुराना स्थापित नेतादेखि युवा कार्यकर्ताले समेत पोखरा महानगरपालिकाको नेतृत्व कुनै हालतमा छाड्न नसकिने अडान राख्दै आफ्ना गतिविधि अघि बढाएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, पूर्व जिल्ला सभापति यज्ञबहादुर थापा र वर्तमान सभापति किशोरदत्त बराललाई बालुवाटार बोलाएका थिए। अपरान्ह गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु हुनुअघि बालुवाटार पुगेका कास्की कांग्रेसका नेताहरुले सभापति एवं प्रधानमन्त्री देउवा, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समक्ष पोखराको नेतृत्व कुनै हालतमा छाड्न नहुने मात्र होइन, नसकिने अडान राखेका थिए। नेताहरुसँगको भेटवार्तापछि हिमाल दैनिकसँग कुरा गर्दै कास्की कांग्रेसका पूर्व सभापति थापाले भने, ‘हामीले कास्कीका आम कार्यकर्ता र मतदाताको भावना र चाहना बमोजिम पोखरा महानगरको नेतृत्व छाड्न हुँदैन। अरु कुनै दलको नेतृत्वमा भन्दा कांग्रेसकै नेतृत्वमा चुनाव जित्न सहज हुन्छ। त्यसैले नेताहरुले पोखराका कार्यकर्ता मात्र होइन, मतदाताको भावनाको कदर गर्न पनि कांग्रेसकै नेतृत्वमा चुनावमा जाने कुरामा गठबन्धनमा सहभागी दलका नेताहरुलाई सहमत गराउन आग्रह गर्यौँ।’ आफूहरुलाई पार्टी सभापति देउवा लगायतका नेताहरुले वर्तमान अवस्थाको विषयमा केही चर्चा गरेपनि चितवन कांग्रेसका नेताहरुलाई जस्तो गरी पोखराको नेतृत्व कांग्रेसले छाड्नु पर्ने अवस्था रहेको भनि कुनै दबाबपूर्ण भनाई नराखेको पनि नेता थापाले बताए। गठबन्धनका शीर्ष नेताहरुको कार्यशैली र निर्णय प्रक्रियापूर्व गरेका छलफलबाट सशंकित बनेका कस्केली कांग्रेसका नेताहरुले पोखरा महानगरपालिकाको नेतृत्व आफ्नै पोल्टामा आउने कुरामा भरोसा गरिनहाले पनि अझै आशा भने नमारेको भन्दै जिल्ला फर्किएका छन्।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update