नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको गुनासो गरेका छन्।
मंगलबार काठमाडौंमा एकीकृत समाजवादले आयोजना गरेको पार्टी प्रवेश एवं निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीलाई गठबन्धनकै सहयात्री दलबाट अपमान जारी रहे त्यो आफूलाई सह्य नहुने चेतावनी पनि दिए।
अध्यक्ष नेपालले सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दा अरुको शक्तिको अवमूल्यन गर्ने गरेको र अपमानपूर्ण ढंगले पनि व्यवहार भइरहेको भन्दै आफ्नो पार्टी अपमान सहनका लागि नभएर विद्रोह गरेर जन्मेको धारणा राखे।
उनले गठबन्धनभित्र सहमति खोज्ने र सहमति नभएका स्थानमा मित्रवत ढंगले प्रतिष्पर्धाका आधारमा जाने टुुङ्गो लागेको जानकारी पनि दिए। सात महिनामै मेची देखि महाकालीसम्म पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै आफ्नो पार्टीको भविष्य उज्जल रहेको दाबी उको थियो।
अध्यक्ष नेपालले जनमुखी स्थानीय सरकार, विकास समृद्धिको आधार नाराका साथ घोषणापत्र सार्वजनिक भएको भन्दै जनताको बिकासको चाहना र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए।
उनले आफ्नो तहको बिकासको मास्टरप्लानसहित जनतामाझ जान पनि पार्टी नेता, कार्यकर्तालाई निर्देशन दिए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र नेतृत्व रवैयाप्रति रुष्ट बनेर गत असोजमा पार्टीबाट विभाजित भएर नयाँ दल गठन गरेका नेता नेपालले विगतमा एमालेको नेतृत्वमा सरकारले जेजति राम्रा जनमुखी काम गर्यो त्यो आफूहरुकै कारण भएको भन्दै त्यसको जस लिने कोशिश गरे।
एकीकृत समाजवादीको घोषणापत्रमा जस्तोसुकै परिस्थिति आइलागे पनि लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको अभियानमा निरन्तर अगाडि बढ्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। त्यस्तै बिभिन्न आयोजनाको सुरुवात गरिएको, प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने, भ्रष्टाचार निर्मुल पार्ने, हरेक पालिकामा पुस्तकालय बनाउने लगाएतका बिषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ।
कार्यक्रममा एकीकृत समाजवादी र नेकपा गौरवशालीबीच एकीकरण घोषणा गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय