आसन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको नेतृत्व गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीलाई दिने निर्णयमा पार्टी नेतृत्व पुगेको जानकारी पाएपछि कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले त्यसको विरोधमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको छ।
सत्तासाझेदार दलहरुबीच देशभरीका ६ महानगरपालिका, उपमहानगरपालिका लगायतका निकायमा आपसी भागबण्डा गरेर जाने सहमति बमोजिम नेकपा एसलाई पोखरा महानगरपालिकाको प्रमुख पद दिने औपचारिक निर्णय आउने क्रममा बुधबार पोखरा महानगरपालिका कार्यसमितिले चिप्लेढुंगास्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।
महानगरपालिकाका प्रमुख सुरेन्द्र विजुक्छेको साथ र समर्थन पाएका सचिवद्वयले हस्ताक्षर गरी जिल्ला पार्टी कार्यालयको गेटमा ध्यानाकर्षण पत्र टाँसेका छन्।
जसमा पार्टी सभापति एव. प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला पार्टी सभापति किशोरदत्त बराल र प्रदेश सभापति शुक्रराज शर्मालाई पनि फड्के किनाराका साक्षी बनाएर गठबन्धनको नाउँमा पोखरा महानगरको नेतृत्व नेकपा एसलाई दिने तयारी गरेको आरोप लगाएका छन्।
लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका अनगिन्ती नेता, कार्यकर्ताको भावना, चाहना र आममतदाताको अपेक्षा विपरित कमजोर उपस्थिती रहेको नेकपा एसलाई नेतृत्व दिएर पार्टीका आकांक्षीहरुलाई नेतृत्वले पाखा लगाउन खोजेपछि कास्की कांग्रेसभित्र तिब्र असन्तुष्टि र विरोधका आवाज उठ्न थालिरहेका छन्।
कार्यालयमा तालाबन्दी गरेको विषयमा कास्की जिल्ला कांग्रेस सभापति किशोरदत्त बरालले मंगलबार मात्रै पार्टी सभापति लगायतका शीर्ष नेताहरुलाई पोखराका नेता, कार्यकर्तादेखि आम मतदाताको भावना अनुसार पोखरा महानगरको नेतृत्व अरु दललाई दिन नसकिने र जिताउन पनि नसकिने अडान राखेर आफूहरु जिल्ला फर्किएको बताए।
आफूहरुले राखेका विचारको विषयमा नेताहरुले यसबारे अहिल्यै नै निर्णय भइनसकेको र उनीहरुको कुरा गठबनधनका शीर्ष नेताहरुको बैठकमा राख्ने भनिएपनि नेताहरुले पोखराको विषयमा सहि निर्णय लिन ढिला गरिरहेको गुनासो उनले गरे।
बरालले आफूले पार्टी कार्यालयमा तालाबन्दी गरिएको जानकारी पाएपछि अहिले पार्टीका सबै जिम्मेवार नेताहरुसँग बसेर छलफल र समाधानको उपायको खोजिगरिरहेको बताए।
तर, कास्की कांग्रेसभित्र केन्द्रीय नेतृत्वले आफ्नो भावना र मर्ममाथि चोट पुग्नेगरी कुनै अप्रिय निर्णय गरेको खण्डमा महानगरपालिकाको प्रमुख, उपप्रमुखसहित वडामा पार्टीकै तर्फबाट उम्मेदवार खडा गरेर गठबन्धनलाई चुनौती दिन दबाब दिइरहेका छन्।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय