हिमाल दैनिक
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको नेतृत्व गठबन्धनमा सहभागी दल जनता समाजवादी पार्टी नेपाललाई दिने सहमति भएको हल्ला सुन्नासाथ निर्वाचनको तयारीमा जुटेका पर्सा जिल्लाका कांग्रेस नेताहरु राजधानी आइपुगेका छन्। यसअघिको निर्वाचनमा उपमेयर पदमा सहज जित हाँसिल गरेपनि आन्तरिक कमजोरीका कारण प्रमुख पदमा झिनो मतअन्तरले पराजय व्यहोरेको कांग्रेसका नेताहरुले यसपटक पर्सा जिल्लाको मात्रै नभएर देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज महानगरपालिकामा आफ्नो नेतृत्व स्थापित गर्ने सबै उपायको खोजीमा व्यस्त थिए। तर, सत्ता गठबन्धनमा रहेका दल र तिनका शीर्ष नेताहरुबीच गठबन्धनलाई कायम राख्दै अघि बढ्ने नाउँमा ६ महानगरपालिकामा भागवण्डा गर्दै वीरगञ्जको मेयरमा जसपालाई दिने अन्तिम तयारी भएपछि पर्साबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा रहेका पार्टी सदस्यदेखि जिल्ला तहका नेतासमेत अहिले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौ आएका हुन्। कुनै समय कांग्रेसको किल्लाको रुपमा परिचित पर्सा जिल्लामा पछिल्लो समय मधेस आन्दोलनको राप र तापका कारण केही असर परेको थियो। फलस्वरुप अघिल्लो पटकको स्थानीय तहदेखि संघको निर्वाचनमा पनि कांग्रेस पराजित भएको थियो। यसका बाबजूद जिल्लादेखि केन्द्रसम्म स्थापित नेताहरुको भीड रहेको पर्सा कांग्रेसका नेताहरुले यसपटक तीन तहकै निर्वाचनमा कांग्रेसको सफलता कसरी हासिल हुन सक्छ भनि सक्रिय रहँदै आएकोमा एकाएक महानगरको नेतृत्व गुम्न लागेपछि यसले आफूहरु मात्र होइन, आम कार्यकर्ता र मतदातामाथि नै अन्याय हुन लागेको महसुस गर्दैछन्। पर्साका एक नेताले गठबन्धन कायम राख्ने सवालमा पडाडका जिल्लाहरुमा कांग्रेसको मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले भएको कारण गठबन्धनबीच तालमेल हुनु स्वाभाविक भएपनि पर्सामा कांग्रेसकै मुख्य प्रतिस्पर्धी दलका रुपमा रहेको जसपालाई महानगर छाड्दा यसले आगामी प्रदेश र संघको निर्वाचनमा पनि गम्भीर असर पार्न सक्ने खतरा बढाउने तर्फ नेतृत्वले ध्यान दिनु पर्ने बताए। उनले भने, ‘पर्साको वीरगञ्ज महानगरपालिकामा यसपटक कांग्रेसको नेतृत्व चाहिन्छ भन्न मात्रै आएका होइनौँ, कांग्रेसले जित्ने बलियो आधार तय भएको छ। यदी यो कुरालाई ध्यान नदिई संगठन र नेतृत्व खिइँदै गएको जसपालाई दिइयो भने यसले भोलिका दिनमा पनि पार्टीलाई असर गर्छ। यसैले हामी आज सभापति देउवालगात पार्टीका शीर्ष नेताहरुसँग पर्साका जनताको भावना बुझिदिन आग्रह गर्दैछौँ।’ साथै पर्साका नेताहरुले यदी आफ्नो सुझावालाई नेतृत्वले गम्भीरतापूर्वक नलिएर अन्यथा गरेको अवस्थामा परिणाम गम्भीर हुन सक्ने खतरा रहेको पनि बताए।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update