हिमाल दैनिक
सत्तारुढ गठबन्धनले पाँच दलिय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो। बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले देशैभरी पाँच दलको एउटै उम्मेवार हुने बताए। ‘समग्र मिटिङमा पाँच दलको भावना र मर्म अनुसार अगाडी बढ्ने र काहीँ आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने र जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडी बढाएर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ,’ उनले भने। कतिपय जिल्ला र स्थानीय तहमा केन्द्रीय तहको निर्णय विरुद्ध उठेको आवाजको सन्दर्भमा उनले थप्दै भने, ‘केही असमझदारीहरु छन्, सिट थोरै छ। योगदान गरेका धेरै साथीहरु हुनुहुन्छ। स्वाभाविक रुपले उहाँहरुको आकांक्षा हुनुलाई अन्यथा ठह¥याउन सकिन्न। तर पार्टीको जुन एउटा मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ त्यो निर्णयलाई पालना गरेर अगाडी बढ्नुको हामीसँग अहिले विकल्प छैन र अहिले यो स्थानीय सरकारले विकास निर्माणलाई तिव्रता दिनुपर्दछ। पाँच वर्षको अनुभवले पनि के देखाएको छ भने स्थानीय सरकारले खासगरेर सडक पुर्वाधारहरुमा उल्लेख्य काम गरेका छन्। र अब यो पाँच वर्षमा विकास निर्माणलाई अगाडी बढाउने उद्देश्यले स्थानीय निकायलाई परिचालन गर्नुपर्दछ। र स्थानीय निकायमा पाँच दलले खडा गरेका उम्मेदवारहरुलाई एकताका साथ निर्वाचित गराउन सबैले आ–आफ्नो संयन्त्रमार्फत् आ–आफ्नो दललाई निर्देशन गर्ने निर्णय भएको छ। र केही छुटफुट उम्मेदवारीहरु दर्ता भएपनि तिनीहरुलाई फेरी सहमती गरेर पाँच दलको एउटै उम्मेदवारहरु देशभरी हुनेछन्।’ मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरुलाई पनि सहमतीमा ल्याउने जानकारी दिँदै उनले उम्मेदवार छनौटको सम्बन्धमा नेपाली कांग्रेसभित्र कुनै समस्या नभएको दाबी गरे।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update