हिमाल दैनिक
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तय गरेको उम्मेदवारी दर्ताको दोस्रो तथा अन्तिम दिन सोमबार देशभरीका स्थानीय तहमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने कार्य सुरु भएको छ। मनोनयन प्रक्रियामा सहजताको खोजि गर्दै निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि मनोनयन दर्ताको कार्यतालिका राखेपनि आइतबार देशका ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडामा प्रमुख दलका तर्फबाट खासै मनोनयन दर्ता भएन। विशेषगरी सत्ताधारी प्रमुख पाँच दलबीच भएको चुनावी तालमेलमा कतिपय नेता, कार्यकर्ताको असहमति र असमझदारीदेखि दलभित्रैका आकांक्षीहरुको व्यवस्थापनमा सकस परेपछि प्रमुख पाँच दलसँगै नेकपा एमालेले मनोनयन दर्ता गर्ने अन्तिम दिन मात्रै अधिकांश तहको उम्मेदवारी टुंग्याएका थिए। उम्मेदवारी तय गर्न ढिला गरेका दलहरुले एकअर्का प्रति के कस्ता उम्मेदवार आउन सक्छन् र त्यसको जनतामाझ के कस्तो प्रभाव पर्छ भन्नेबारे चुनावी हिसाबकिताब गर्दा पनि उम्मेदवार छनौट प्रक्रियामा ढिलाई भएको हो। यसका बाबजूद कतिपय तहमा प्रमुख पार्टीको केन्द्रीय निकायबाट उम्मेदवार बन्ने टुंगो लागेपनि स्वयं व्यक्तिगत गतिविधि र चालचलनका कारण केही उम्मेदवारहरुको टिकट खोसिँदा अर्का आकांक्षीको भाग्य खुलेको छ। यसको पछिल्लो उदाहरण नेकपा एमालेबाट पोखरा महानगरपालिकाको प्रमुख पदमा टिकट पाइसकेर मनोनयन दर्ता हुनु केही घण्टा अघिमात्रै कोपभाजनमा परेका दिकप पौडेल एक हुन्। शनिबार राती नै नेकपा एमाले सचिवालयबाट टिकट पाएको सार्वजनिक सूचना पाएसँगै सामाजिक संजालबाट बधाई र शुभकामनाको ओइरो थेग्नै कठिन भइरहेका पौडेललाई आइतबार बिहानै सामाजिक संजालकै अर्को एक विवादस्पद भिडियोले चर्चासँगै घृणाको पात्रका रुपमा परिणत गरिदियो। खासगरी केही समयअघि पोखराकै मोहोरिया टोलस्थित एक सुन पसलमा आफन्तजनको परिवारका सदस्यको विवाहका लागि सुनका गरगहना खरिद गर्न जाने क्रममा उक्त पसलबाट सुनको औँठी चोर्दै गरेको सिसि क्यामेराको भिडियो सार्वजनिक भएपछि एमाले नेतृत्वले शनिबारको निर्णय सच्याउँदै उनको स्थानमा पूर्व मेयर तथा प्रदेश सांसद कृष्ण थापालाई उम्मेदवार बनायो।  
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update